माओवादीले दलाल र बिचौलियालाई ‘आउट’ गर्ने

माओवादीले दलाल र बिचौलियालाई ‘आउट’ गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलाल र विचौलियाहरुलाई पार्टीमा नराख्ने उद्घोष गर्नुभएको छ । पछिल्लो समय मौलाउँदै गएको दलाल प्रवृतिले पार्टीलाई कमजोर बनाइरहेको निष्कर्षसहित उहाँले अब त्यस्ता पात्रहरुलाई ‘आउट’ गरिने बताउनुभएको हो । 

आज पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दलाल र बिचौलिया प्रवृत्ति भएकालाई माओवादीबाट टाढै बस्न पनि घुमाउरो चेतावनी दिनुभयो । 

‘हामी समाजवादको यात्रातर्फ जाँदैछौँ, तर के बुझ्नुपर्यो भने यसको मूल आधार उत्पादन नै हो, उत्पादन संघर्षमा सिङ्गो पार्टी केन्द्रित नहुँदासम्म हामी समाजवादको यात्रामा अघि बढ्न सक्दैनौँ’, उहाँले भन्नुभयो,  ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा विचौलिया टाइपका, दलाल टाइपका बनेको पनि देखिन्छ, त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ, अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ, नत्र पार्टीले नै आउट गर्नुपर्ने हुन्छ ।’

प्रचण्डले माओवादीलाई परम्परागत दलहरुभन्दा फरक राख्नको लागि नोकरशाही र दलाल प्रवृतिबाट मुक्त राख्नुपर्ने आवश्यता पनि औँल्याउनुभयो । ‘माओवादी नै त्यो पार्टीको जसले मात्र रुपान्तरणकारी समाजवादलाई सम्भव बनाउन सक्छ, तर त्यही पार्टीमा दलाल र विचौलियासँग सम्बन्ध राख्नेहरु छन् भने उनीहरु लामो समय टिक्दैनन्, त्यस्तो प्रवृतिका मान्छेहरु माओवादीमा राखिदैन’, उहाँले थप्नुभयो । 

अध्यक्ष प्रचण्डले नेता तथा कार्यकर्तालाई कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनाको खोजी र आत्मनिर्भर हुन पनि आग्रह गर्नुभएको छ । कार्यक्रममा विभागका प्रमुख तथा उपाध्यक्ष नन्दकिशोर पुन पासाङले आगामी कार्ययोजनाबारे संक्षिप्त धारणा राख्नुभएको थियो ।

टिप्पणीहरू