साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित
साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । आइतबार बेलुकी सम्पन्न खेलमा बंगलादेशसँग ३-० गोलले पराजित हुँदै नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको हो ।
भुटानको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशलाई जित दिलाउन थुइनुई मर्मा, सौरभी अकान्डा प्रिती र रेयाले समान एक/एक गोल गरे । खेलको ४१ औँ मिनेटमा मर्माले गोल गर्दै बंगलादेशलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । तीन मिनेटपछि सौरभीले गोल गर्दै बंगलादेशलाई पहिलो हफामा २-० गोलको अग्रता दिलाइन् ।
यस्तै दोस्रो हाफको इन्जुरी समयमा रेयाले गोल गर्दै बंगालदेशलाई ३-० गोलको सहज जित दिलाएकी हुन् । जितसँगै बंगलादेशले तीन खेलबाट ६ अंक जोड्दा नेपालले समान खेलबाट तीन अंक बटुलेको छ । यता नेपालको भने यो दोस्रो हार हो ।
यसअघि पहिलो खेलमा नेपाल भारतसँग ७-० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलले हराएको थियो ।
टिप्पणीहरू