एमालेले थाल्यो धन्यवाद अभियान
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास हुँदै भारत र चीनबीच दुई साताअघि भएको व्यापार सम्झौताप्रति चिनियाँ राष्ट्रपति सि चिनफिङसामु आपत्ति प्रकट गरेको कुरालाई नेकपा एमालेले राष्ट्रवादी कोणबाट प्रचार गर्न थालेको छ।
चीनको थ्यानचिनस्थित सरकारी गेस्ट हाउसमा राष्ट्रपति सिसँग शनिबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभाग भएकाले त्यसलाई व्यापारिक मार्ग बनाउने गरी दुई छिमेकीले गरेको सहमतिलाई आपत्तिजनक भनेका थिए ।
परराष्ट्र सचिव अमृतबहादुर राईले उक्त भेटघाटपछि पत्रकारहरूसँग भिडियो संवादका क्रममा नेपालको भूमिसम्मान र सीमा सार्वभौमिकतामा कुनै सम्झौता हुन नसक्ने कुरा ओलीले राखेको बताए । लिपुलेक मुद्दामा नेपालको प्रष्ट अडान कायम रहेको कुरा नेपाली दूतावासको वक्तव्यमा पनि उल्लेख छ ।
शनिबार मध्यराति नेपाली दूतावासले वक्तव्य निकाल्दै ओलीले चीनसँग लिपुलेकबारे कुरा राखेको जनाएको छ । तर उता चिनियाँ विदेश मन्त्रालयले भने नेपालले ताइवान चीनकै भूभागका रुपमा रहेको वार्ताका क्रममा उल्लेख गरेको जनाएको छ।
चिनियाँ राष्ट्रपतिले लिपुलेक विवाद भारत र नेपालको भएकाले त्यसमा आफ्नो देश नजोडिने जवाफ दिएका थिए । भारतीय अतिक्रमणमा परेको लिपुलेक,लिम्पियाधुरा र कालापानी क्षेत्रमा ऐतिहासिक दस्तावेज समेतका आधारमा नेपालले आफ्नो दावी गरिरहेको छ ।
भारतले भने नेपालको यस कुराको प्रतिवाद गर्दै आएको छ । प्रधानमन्त्रीले चीनसँग लिपुलेकबारे कुरा राखेको विषयलाई पहिलो पटक अन्तर्राष्ट्रियकरण भएको रुपमा पनि नेपाली कूटनीतिज्ञले व्याख्या गरिरहेका छन् ।
तर यसबारेमा भारतसँग वार्ता हुनै बाँकी छ । प्रधानमन्त्री ओली भारतीय विदेश सचिव विक्रम मिस्रीले भदौ पहिलो साता ल्याएको निम्तो मान्न भदौ ३१ गतेदेखि असोज २ गतेसम्म बोधगया जाने छन् । लिपुलेक सहमति र ती क्षेत्रको भूभागमा नेपालको दाबीबारे ओलीले समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्नै बाँकी छ ।
यता लिपुलेक र भारतद्वारा मिचिएको भनिएको पश्चिमी क्षेत्रको भूभागलाई लिएर प्रधानमन्त्रीले पहिलो पटक अन्तर्राष्ट्रियकरण गरेको भन्दै एमाले वृत्तले धन्यवाद अभियान थालेको छ ।
प्रधानमन्त्रीको सचिवालयले ओलीको फेसबुक पेजमा आइतबारै बिहान एउटा पोस्ट गरेको थियो । जसमा ओलीको तस्बिरसहित लेखिएको थियो, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी... जय जय- नेपाल !’
ओलीको फेसबुक पेजमा चीनबाटै यो क्याप्सनसहितको तस्बिर पोस्ट भएपछि एमाले महासचिव शंकर पोखरेलले सोमबार बिहानै ‘धन्यवाद’ पोस्ट हाले ।
चीनसँग जस्तै भारतसँग पनि कुरा राखेर भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने भन्दै उनीहरूले यसलाई उग्रराष्ट्रवाद र सस्तो प्रचारबाजीको पनि संज्ञा दिएका छन् ।
प्रधानमन्त्री ओली,आफ्नो तस्बिर र नेपालको राष्ट्रिय झण्डासहित हालिएको पोस्टले नेपालले लिपुलेकबारे चीनसँग उठाएको कुरालाई इंगित गरेको छ। ओलीले चिनियाँ राष्ट्रपतिसँग लिपुलेक सम्झौताबारे कुरा उठाएको र उक्त भूमिमा नेपालको दावी पेश गरेको कुरामा उनले धन्यवाद पोस्ट गरेका हुन् ।
बिधान महाधिवेशनको तयारीका निम्ति यतै रहेका ओलीका मुख्य सल्लाहकार तथा एमाले उपमहासचिव विष्णु रिमालले पनि धन्यवाद पोस्ट गरे । उता एमाले उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही पोस्ट फेसबुकमा हालेका छन्। अर्का उपमहासचिव प्रदीप ज्ञवालीले समेत यही ट्रेन्ड पछ्याएका छन् ।
अध्यक्ष ओलीनिकट यी नेताहरूले फेसबुकमा धन्यवाद पोस्ट गरेसँगै अहिले एमाले कार्यकर्ताहरू त्यही ट्रेन्डलाई पछ्याउन थालेका छन् । एमाले नेता भीम ज्वाला राई पनि धन्यवाद पोस्टका लागि अघि सरेका छन् ।
तर उनीहरूको धन्यवाद पोस्टलाई केहीले समर्थन र केहीले विरोध गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतले हडपेको भूमि नै फिर्ता ल्याएको शैलीमा एमाले नेताहरू प्रचारमा उत्रिएको भन्दै आलोचना गरेका छन् ।
चीनसँग जस्तै भारतसँग पनि कुरा राखेर भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने भन्दै उनीहरूले यसलाई उग्रराष्ट्रवाद र सस्तो प्रचारबाजीको पनि संज्ञा दिएका छन् । तर एमाले कार्यकर्ताहरूले भने ओलीको कदम साहसिक भन्दै भारतसँग पनि त्यसैगरी कुरा राख्ने विश्वाससहित समर्थन जनाइरहेका छन् ।
टिप्पणीहरू