सावित्री गइन् न्युजिल्याण्ड
फाइल फाेटाे
नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्री भण्डारी अष्ट्रेलियाको शीर्ष डिभिजनको महिला लिग ‘ए-लिग’ खेल्न न्युजिल्याण्ड प्रस्थान गरेकी छिन् । सावित्रा सोमबार राति त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सावित्राले सोमबार सामाजिक सञ्जालमार्फत लिग खेल्न न्युजिल्याण्ड प्रस्थान गरेको जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्, ‘नयाँ यात्राको सुरुवात । सम्पूर्ण नेपाली समर्थकको आशीर्वाद र समर्थनको साथमा । वेलिंगटन फिनिक्सबाट खेल्न र त्यहाँ रहनुहुने नेपाली समर्थकलाई मैदानमा भेट्न उत्साहित छु ।’
सावित्रा गत महिना न्युजिल्याण्डको विलिङ्टन फिनिक्समा अनुबन्ध भएकी थिइन् । उनले फिनिक्ससँग दुई वर्षको सम्झौता गरेकी हुन् । फिनिक्सले अष्ट्रेलियाको शीर्ष डिभिजनको लिगमा प्रतिस्पर्धा गर्दै आएको छ । उसले गत सिजन नवौं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।
यसअघि उनले फ्रान्सेली क्लब एन अभेन्ट ग्वेंगाम्पबाट युरोपेली लिग खेलेकी थिइन् । सावित्राले ग्वेंगाम्पबाट १८ खेल खेल्दै ६ गोल गरेकी थिइन् । सावित्राले लिगको अन्तिम खेलमा सेन्ट इटिएन्नेविरुद्ध ह्याट्रिक गरेकी थिइन् भने चर्चित क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)विरुद्ध दुई गोल गरेकी थिइन् । सावित्रा युरोपको शीर्ष लिगमा खेलेर गोल गर्ने पहिलो नेपाली खेलाडीपनि हुन् ।
यस्तै सावित्रा नेपाली राष्ट्रिय महिला फूटबल टोलीबाट सार्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले नेपालबाट ६० खेलमा ६६ गोल गरिसकेकी छिन् । यसअघि इन्डियन वुमेन्स सुपर लिग समेत खेलिसकेकी सावित्राले २४ खेलमा ६० गोल गरेकी थिइन् । उनले लगातार तीन सिजन वुमेन्स लिगको उपाधि जितेकी थिइन् ।
टिप्पणीहरू