आन्दोलनकारीलाई अरुले उक्साएको सुरक्षा निकायकाे रिपोर्टिङ

आन्दोलनकारीलाई अरुले उक्साएको सुरक्षा निकायकाे रिपोर्टिङ

भ्रष्टाचारविरुद्ध युवा एकता भन्दै जेन जी युवाहरुले आयोजना गरेको आजको प्रदर्शनले अस्वाभाविक र अनपेक्षित मोड लिएको छ । यो समाचार तयार पार्दासम्म १४ जना युवाको मृत्यु भइसकेको छ, भने सयौँ घाइते भएका छन् । 

नयाँ बानेश्वरको सिभिल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवि शिक्षणलगायतका अस्पतालको इमर्जेन्सीमा पुगेका धेरै घाइतेको उपचारका कारण त्यहाँको माहौल कहालीलाग्दो बनेको छ ।

बिहान ९ बजे माइतीघरमा भेला भएका जेन-जी युवाहरुले ११ बजे र्‍याली सुरु गरेका थिए । एभरेष्ट होटलसम्म पुगेपछि अगुवाहरुले आन्दोलन सफल भइसकेको भन्दै एक सूचनामार्फत् सहभागी सबै युवाहरुलाई घर फर्किन आह्वान गरेका थिए । तर पनि युवाहरु रोकिएनन्, बरु प्रहरीको ब्यारिकेट तोडेर संसद भवनभित्र पुगे, र आगो लगाए । यसरी निषेधित क्षेत्र तोडेर वितण्डा मच्चाउनेहरु के साँच्चै जेन-जी युवा हुन् त ? सुरक्षा निकायको उच्च स्रोत भन्छ, ‘उनीहरु जेन-जी होइनन्, राजावादी र केही राजनीतिक दलका कार्यकर्ता थिए ।’

बताइएअनुसार आन्दोलनको सुरुदेखि नै केही (पाका) व्यक्तिहरु प्रदर्शनस्थलमा थिए । उनीहरुको गतिविधिलाई फिल्डमा खटिएका सुरक्षा निकायका कर्मचारीहरुले निगरानीमा राखेको बताइएको छ । जेन-जी युवाहरुलाई घर फर्किन आह्वान गरिएको सूचना सार्वजनिक भएलगत्तै उनीहरुले भीडलाई उत्तेजित बनाउने गतिविधि गरेको गुुप्तचरको दाबी छ । ‘निषेधित क्षेत्र तोड्न लगाउने र संसद भवनमा छिर्न उक्साउने काम केही व्यक्तिहरुबाट भएको छ’, स्रोत भन्छ, ‘त्यसमा राजावादीहरुको आन्दोलनमा देखिएका केही अनुहार छन्, रास्वपाका केही प्रतिनिधिहरु यो गतिविधिमा देखिए ।’ 

जेन जीको आन्दोलनमा घुसपैठ भएको विषय सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले समेत सुरक्षा निकायका प्रमुखहरुबाट ब्रिफिङ लिएको बताइन्छ । सो क्रममा सुरक्षा निकायका प्रमुखहरुले ‘रास्वपाका कार्यकर्ता र राजावादी भनिने युवाहरुले निषेधित क्षेत्र तोडेर घटना निम्ताएको’ रिपोर्टिङ गरेको बुझिएको छ ।

टिप्पणीहरू