एमालेमा पुर्नगठनको दबाब, अष्टलक्ष्मीलाई अघि सार्ने चर्चा

एमालेमा पुर्नगठनको दबाब, अष्टलक्ष्मीलाई अघि सार्ने चर्चा

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक दलबिना गणतन्त्रको आयु लामो नहुने भन्दै तत्काल पार्टी पुर्नगठनको माग गरेका छन् । 

अहिलको परिस्थिति आउनुको कारणबारे गम्भीर रुपमा समीक्षा गरेर अघि बढ्नुपर्ने उनको मत छ । बाँस्कोटाले आज सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै गणतन्त्रबिना समाज थप बिथोलिनेतर्फ पार्टीपंतिलाई सचेत गराएका छन् ।  

‘अरु क्षति रोक्न जे भो-भो हैन, किन भो-कसरी भो र अब के-कसरी, कहिले गर्ने, छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुर्नगठन गरौँ’, उनले लेखेका छन्,‘अप्रिय लाग्ला तर सत्य यही हो कि दलबिना गणतन्त्र बाँच्दैन र गणतन्त्रबिना समाज ।’

समय र परिवेशअनुसार नेतृत्व परिवर्तन अनिवार्य रहेको भन्दै उनले यसतर्फ ध्यान दिन अन्य दललाई समेत सुझाव दिएका छन् । ‘समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ, बाँस्कोटा भन्छन् ।’

एमालेका केही नेताले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा पार्टी पुर्नगठन गर्नुपर्ने आवाज उठाउन थालेको पाइन्छ । विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेका करिब एक दर्जन नेताले हिजो शाक्यलाई भेटेर नेतृत्व लिन आग्रह गरेको बुझिएको छ । 

भेटमा सहभागी एक नेता भन्छन्, ‘उहाँ निर्विवाद, निश्कलंक हुनुहुन्छ, हामीले भेटेर अबको नेतृत्व तपाईले लिनुस् भनेका छौँ, छलफल भइरहेको छ, चाँडै टुंगोमा पुग्छौँ ।’
 

टिप्पणीहरू