गुप्तचर प्रमुख छान्न लोकसेवालाई सुझाव
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिसँगै राज्यका चार वटा सुरक्षा निकायमध्ये एउटा राष्ट्रिय अनुसन्धान विभागको प्रमुख पद रिक्त भएको छ । प्रमुख निर्देशक हुतराज थापाको अवकाश र नयाँ नियुक्ति भइनसकेको अवस्थामा गुप्तचर विभाग नेतृत्वविहीन छ ।
नेतृत्व चयनका लागि सरकारलाई कार्यरत दुई जना एआइजीहरुको लोकसेवा आयोगको समन्वयमा प्रस्तुती,क्षमता र योग्यता मापन गर्न सुझाव पनि दिइएको छ । ‘नयाँ अवस्थामा नयाँ ढंगले नेतृत्व चयन गर्नु राम्रो हुन्छ,’ विभागका अरु अधिकृतले भने, ‘जो राम्रो,योग्य हो त्यसको वरियताभन्दा क्षमता जाँच गरेर नियुक्ति दिउँ,टण्टै साफ ।’
अर्कोतर्फ नेतृत्वका लागि दुई एआईजीबीच रोचक प्रतिस्पर्धा देखिएको छ । एआइजी ओम जोशी र टेकेन्द्र कार्की विभागीय ब्रिफिङका लागि अस्तिदेखि शीतल निवास र प्रधानमन्त्री कार्यालय तथा निवासमा पालैपालो जाने गरेका छन् । स्रोत भन्छ, ‘हिजो राष्ट्रपति कार्यालयबाट वरिष्ठताको आधारमा जोशीलाई बोलावट भयो । त्यसपछि कार्की पनि पुगे ।’
हिजो रातिको सुरक्षा ब्रिफिङमा पनि कार्कीलाई बोलाइएको स्रोतको दावी छ । नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बलबाट एक एक जना गएको ठाउँमा अनुसन्धान विभागबाट दुई जना गएकाले नराम्रो सन्देश प्रवाह भएको भन्न थालिएको छ ।
विभागभित्र एक पक्षलाई अघि बढाउन ग्रुपिज्म शुरु भइसकेको अर्को पक्षको आरोप छ । भूमि पाठक,टेकराज तिमिल्सिना,हेमन्त कार्की,लेखाको हाकिम एकातिर रहेकोे बताइन्छ । ‘पछिल्लो अवस्था हेर्दा गुप्तचर विभाग ट्रेड युनियन भयो,’विभागका अन्य कर्मचारी भन्छन्,‘गुप्तचरको अनुशासन ध्वस्त भयो,सिष्टम लथालिंग बन्यो ।’
गत चैत १५ गतेपछि राजधानीमा उत्पन्न परिस्थितिबारे खासै अनुसन्धान, विश्लेषण नगर्दाको परिणाम गत साता राज्यले भोगेको छ । चैत १५ को घटनापछि सतर्कता अपनाउन राज्यलाई दिनुपर्ने सुझाव शून्य हुँदै गएको, अधिकृतहरु सबै बढुवा र सरुवामा लिप्त भएकाले पनि राज्यले गत सोमबार र मंगलबार दर्जनौं जन र खर्बौैं धनको नोक्सानी व्यहोर्न बाध्य भएको छ ।
गत साताको आगजनीमा अनुसन्धान विभाग लुम्बिनी प्रदेशको गाडी काठमाडौंमा जलेको छ । उताका प्रमुख रामप्रसाद दास चढेर यता आएको गाडी काठमाडौंमा जलेको हो । बिदा नलेखेको र स्वीकृति पनि नलिएको अवस्थामा दास यता आउँदा डढेको गाडीको मूल्य उनले तिर्नुपर्ने आवाज उठेको छ ।
उता सुदूरपश्चिम अनुसन्धानको गाडी मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा जाँदा ध्वस्त भएको थियो । कर्णालीको गाडीको सिसा ध्वस्त पारिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत गुप्तचरका एसपीले चढ्ने गाडी पनि जलाइएको छ । विभागीय हेडक्वार्टर बरफबागमा रहेका गाडी तोडफोड, कम्प्युटर फुटाइएको छ भने ल्यापटप चोरी भएको बताइन्छ ।
टिप्पणीहरू