संविधान खारेजीको माग गर्दै गृह मन्त्रालय पुगेकालाई गाडीमा राखेर प्रधानमन्त्री कार्यालय

संविधान खारेजीको माग गर्दै गृह मन्त्रालय पुगेकालाई गाडीमा राखेर प्रधानमन्त्री कार्यालय

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घाइते जेन–जी युवाहरूलाई सिंहदरबार गेटबाट प्रहरीको गाडीमा राखेर प्रधानमन्त्री कार्यालय पुर्याइएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मागपत्र प्रस्तुत गर्ने भन्दै दिउँसो सिंहदरबारको दक्षिण गेटमा पुगेका उनीहरुलाई त्यहाँ तैनाथ सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि उनीहरु त्यहिँ धर्ना बसेकोमा ‘माथिको आदेश’ पछि प्रहरीले सुरक्षा दिएर गृह मन्त्रालय लगेको थियो । गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर मागपत्र बुझाएका घाइतेलाई त्यहिँबाट प्रहरीको गाडीमा राखेर प्रधानमन्त्री कार्यालय पुर्याइएको हो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका सिडिओ छवि रिजाललाई तत्काल कारबाही गर्नुपर्ने घाइते जेन–जीको माग छ । त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा जलेको पैसाको स्रोत खोजबिन हुनुपर्ने, सबै घाइतेको निःशुल्क उपचार तथा क्षतिपूर्ति पाउनुपर्ने र नेपालको संविधान २०७२ खारेज गर्नुपर्ने उनीहरुको थप माग छ ।

सो मागको सन्दर्भमा गृहमन्त्रीबाट ठोस जवाफ नआएपछि उनीहरुले प्रधानमन्त्री भेट्न पाउनुपर्ने माग राखेका थिए । त्यसपछि प्रहरीले तत्काल गाडी निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय जानको लागि व्यवस्था मिलाएको थियो । 

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको गाडीमा बसेर प्रम कार्यालय जानेहरुमा सुशीला गौतम, रुबिना खड्का, आदित्य रावल, सुरेश एडी, गोकर्ण विष्ट, प्रकाश दाहाल, लोकेन्द्र खड्का, चम्पा लामा, भुवन दाहाल, अनिल दास, बादल राई, रुपिन खड्का र आदित्य रावल छन् ।

टिप्पणीहरू