पूर्वराजाले दशैँमा निर्मल निवासकाे ढाेका नखाेल्ने
पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको विजयादशमी पारिवारिक रुपमा मात्रै मनाउने बताउनुभएको छ । यसअघिका वर्षमा सर्वसाधारणलाई निर्मल निवासमा टीका लगाइदिँदै आउनुभएकोमा यस वर्ष भने उहाँले पारिवारिक रुपमा मात्रै मनाउने निर्णय गर्नुभएकाे हाे ।
आउँदै गरेको विजयादशमीको अवसरमा एक शुभकामना पत्र सार्वजनिक गर्दै शाहले जेनजी प्रदर्शनपछि मुलुकमा विषम परिस्थिति सिर्जना भएको र उक्त पृष्ठभूमिमा निर्मल निवास खुला गर्न नसकिने आशय व्यक्त गर्नुभएकाे छ । ‘यतिबेला राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ, त्यसैले पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन बाध्य छौँ’, सन्देशमा भनिएको छ, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झै हामीबाट वृहत रुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’
यसअघिका वर्षहरूमा सर्वसाधारणहरू टीका र जमरा ग्रहणकाे लागि निर्मल निवास पुग्ने गरेका थिए, यस वर्ष भने गेट खुला नहुने भएकाे हाे ।
पूर्व राजा शाहले पत्रमार्फत् सबैको आशा, आकांक्ष र अभिलाषा पुरा होस् भन्ने आर्शिवाद समेत जारी गर्नुभएको छ । ‘श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथतर्फ अग्रसर राखून्, हामी हाम्रो शुभकामना’, थप भनिएको छ ।
जेनजी प्रदर्शनमा जे नहुने पर्ने, त्यो भएको भन्दै शाहले चिन्ता पनि व्यक्त गर्नुभएको छ । नयाँ पुस्ताका युवाहरुलाई सम्बोधन गर्दै भन्नुभएको छ, ‘विगार्ने, भत्काउने र जलाउनेतिर हाम्रो राजकाज धेरै खटी परे, अब विगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्छ ।’
टिप्पणीहरू