बिचौलिया दिपक भट्टका हजार दाउ
सत्ताशक्तिलाई हातमा लिएर एउटा व्यक्तिले कसरी सरकारी सम्पत्तिमा राज गर्छ र अर्बौंको व्यक्तिगत सम्पत्ति जोड्छ रु यसको जल्दोबल्दो उदाहरण हुन्– बिचौलिया दीपक भट्ट । आइजीपी प्रदीप समशेरका पालामा दुई लाख रूपैयाँ लगानी गरेर सामान सप्लाइको दुनियाँमा प्रवेश गरेका उनी वर्तमान समयको धनी र शक्तिशालीमध्येका एक हुन् । उनका नाममा दर्जनौं कम्पनी छन् भने सरकारी ठेक्कापट्टामा पनि उनकै रजगज छ ।
सुरक्षा निकायको हातहतियारदेखि सरकारी निकायमा आवश्यक विद्युतीय उपकरण खरिदको ठेक्का उनले नै हात पार्दै आएका छन् । पर्यटनदेखि हाइड्रो र रियल इस्टेट व्यवसायमा उनको साम्राज्य छ । उनी यस्ता बिचौलिया हुन्, जसले जो सत्तामा आएपनि प्रभावमा पारेर फाइदा उठाइहाल्छन् । प्रधानमन्त्रीदेखि मन्त्री र कर्मचारीसम्मलाई लठ्ठ बनाएर आफ्नो दुनो सोझ्याउने क्षमता भएका भट्टका बुबा मलकाण्डमा जेल परेका चतुर्भुज डडेल्धुराको एउटा दुर्गम गाउँमा जन्मिएका हुन्।
साविकको भद्रपुर गाविस वडा नम्बर २ मा जन्मेर, हुर्किएका उनको लगानी र सम्पत्तिको हिसाब गरिसाध्य छैन । नागरिकता नम्बर १०७ भएका उनको कलेजदेखि आवास, अस्पताल, रिसोर्ट, सेयर, ठेक्कापट्टालगायत सबै क्षेत्रमा लगानी रहेको छ । मुलुकका ठुल्ठूला सरकारी ठेक्कापट्टा पनि उनले हात पार्दै आएका छन् । भट्ट इन्फिनिटी इन्फ्रास्ट्रक्चर प्रालि, इन्फिनिटी होल्ङिङ्गस प्रालिलगायत चर्चित कम्पनीका मालिक हुन् ।
दर्ता नम्बर ५५९६३ भएको डेल्टा डेभलपर्स प्रालि, ३९३७५ को लेखनाथ डेभलपर्स प्रालि, ३९२२७ को गोदावरी भिला डेभलपर्स प्रालि, ३९२३६ को रोज हाउजिङ्ग, ५८५१९ को इन्फिनिटी इन्फ्रास्टक्चर प्रालि, ९८८८३ को हिमाल रिसोर्ट प्रालि, २३६९८ को फेवा डेभलपर्स प्रालि, ४०१७१ को डायमण्ड हेल्थ क्लब प्रालि, ४०१६८ को स्नोडप रिसोर्ट प्रालि, १०२५३१ को आइरिस हाउजिङ्ग प्रालि उनको हो ।
सुदन गुरुङको हामी नेपाललाई स्पोन्सर गर्ने इन्फिनिटी होल्डिङ्गसको नामबाट उनले गोर्खा ट्राभल्स, किंग्स कलेज, लेखनाथ डेभलपर्स, डेल्टा डेभलपर्स र कान्तिपुरी रिसोर्ट दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । त्यसैगरी, व्यापारी राजकुमार महेश्वर सिंहको जिएसए कम्पनी पनि खरिद गरेका छन् । उनले आफ्नो नाममा रहेको इन्फिनिटी इन्फ्रास्ट्रक्चर प्रालि र इन्फिनिटी होल्डिङ्गसलाई सेयरधनी कायम गरेर होल्डिङ्गस कम्पनीमार्फत सबै कम्पनीमा नियन्त्रण कायम गरिरहेको पाइएको छ ।
उनको कम्पनीमा श्रीमती सुष्मा राणा र विकास राणा पनि सेयरधनी रहेका छन् । सम्पत्ति विवरण बाहिरिने डरले आफूअनुकूल सेयरको स्वामित्व परिवर्तन गर्दै आएका छन् । सेयर स्वामित्व परिवर्तनमा जालझेल भएको पाइएपछि शुरुदेखि हालसम्मको नामसारीको विवरण झिकाउन लागिएको छ ।
सम्पत्ति लुकाउन श्रीमतीदेखि बुवासम्मको प्रयोग
छोटो समयमा मालामाल बनेका भट्टको घरजग्गामा ठूलो लगानी छ । सम्पत्ति लुकाउन श्रीमतीदेखि बुवासम्मलाई प्रयोग गरेका छन् । जग्गा भएको कम्पनीमा श्रीमती सुष्मा र विकासलाई सेयरधनी कायम गरिएको छ । बुवा चतर्भुज भट्टका नाममा पनि घरघडेरी उत्तिकै छ । ती घडेरी कम्पनीको नाममा राखिएको स्रोतको जिकिर छ । स्रोत भन्छ, ‘घरजग्गामा भट्टको धेरै लगानी छ । सम्पत्ति लुकाउनका लागि कम्पनी खोलेका छन् ।’ स्रोतका अनुसार पछिल्लो समय उनले आदित्य आनन्द थुप्रैलाई सेयरधनीको रूपमा लेखाङ्कन गराइरहेका छन् । आदित्य भट्टको कम्पनीमा काम गर्छन् । श्रीमती र बुवाको नाममा मात्रै थुप्रो सम्पत्ति राख्दा शंका उत्पन्न हने भएपछि नयाँ तिकडम गरेका हुन् ।
सरकारी सम्पत्तिमा आँखा
भट्ट यस्ता बिचौलिया हुन्, जसलाई सरकारी सम्पत्ति देख्नै हुँदैन । नेतादेखि कर्मचारीलाई मुठ्ठीमा लिएर सरकारी सम्पत्ति कब्जा गर्ने उनी हदबन्दीको जग्गामा आँखा गाडेर बसेका छन् । उनी लामाटार, गोदावरी, लप्सिफेदी र रामशाहपथमा परियोजना निर्माण गर्ने तयारीमा छन् । लामाटार र गोदावरी आसपास ७०८ रोपनी जग्गामा ‘लामाटार टाउनसिप डेभलपमेण्ट’ बनाउन लागेका छन् ।
आफ्ना चार कम्पनीको नाममा भएको जग्गामा परियोजना निर्माण गर्ने भनेतापनि त्यसमा सरकारी जग्गा पनि समावेश गरिएको स्थानीयको दावी छ । मालपोत र नापी कार्यालयबाट नापजाँच गर्नुपर्नेमा त्यसो नगरिकन परियोजना बनाउन खोजिएको छ । उनले बनाउन लागेको अर्को परियोजना हो, ‘लप्सिफेदी टाउनसिप डेभलपमेण्ट ।’नौं सय रोपनीमा बन्ने यो परियोजनाको नाममा शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा कब्जा गर्न खोजिएको छ । त्यसैगरी, हदबन्दीको स्वीकृति पनि नलिएको बुझिएको छ । राजधानीको मुटुमा बन्ने ‘इन्फिनिटी आईकन’ का लागि पाँच वर्ष भनेर सरकारी जग्गा लिजमा लिएकोमा फिर्ता नै नदिने दाउ छ ।
सर्वोच्च अदालतछेउ रामशाहपाथको २५ रोपनी सरकारी जग्गामा मुलुककै सबैभन्दा ठूलो कर्पोरेट पार्क बनाउन लागिएको छ । जसमा सात सय गाडी पार्किङ्गसहित १७ तल्ला भवन निर्माण गर्ने भट्टको योजना छ ।
सेयर बजारमा एकछत्र राज
भट्ट मुलुकको सबैभन्दा ठूला सेयर लगानीकर्तामध्ये एक हुन् । उनको सेयरमा अर्बौंको लगानी छ । तीन वर्षअघि मात्र झण्डै ३० करोडको सेयर बिक्री गरेका थिए । ग्रीन नेपाल डेभलपर्समा आफ्नो नाममा रहेको २९ हजार कित्ता सेयर शंकरलाल अग्रवाललाई बेचेका हुन् । २४ करोड ८९ लाख ९४ हजारमा २०७९ फागुन ३० गते सेयर बेचेकोमा प्रमाणपत्रको अवधि सन् २०२७ जुन २९ सम्म थियो । तर, उनले समयावधिभन्दा अगाडि नै दुई करोड ४६ लाख ९ हजार चार सय रूपैयाँ राजश्व तिरेर सेयर बिक्री गरे ।
यता, इन्फिनिटी इन्फ्रास्ट्रक्चर प्रालिमा ३० हजार थान सेयर छ । यसबापत ३० लाख भुक्तानी गरिसकेका छन्् भने दुई करोड ७० लाख रूपैयाँ तिर्न बाँकी छ । गोर्खा ट्राभल्स प्रालिमा इन्फिनिटी होल्डिङ्गसको नामबाट एक लाख ९० हजार कित्ता सेयर किनेर राखेका छन्् । सो सेयरको मूल्य एक करोड ९० लाख रूपैयाँ हो । इन्फिनिटी होल्डिङ्गस प्रालिमा उनका नाममा ५७ लाख ५० हजार कित्ता सेयर छ । जसको मूल्य ५७ करोड ५० लाख हुन आउँछ ।
जलविद्युतका एकलौटी ‘बादशाह’
जलविद्युत् क्षेत्रमा बिचौलियाको एकलौटी ‘बादशाह’ को रूपमा परिचित भट्ट हाइड्रोमा विदेशी भिœयाउने कन्सल्ट्याल्ट हुन् । उनले विश्व बैंकबाट लगानी भिœयाएर विभिन्न परियोजना सञ्चालन गरेका छन् । त्यसबाट नै उनको पहुँच कहाँसम्म छ रु भन्ने पुष्टि हुन्छ । हेटौंडा–भरतपुर २२० केभी, भरतपुर–बर्दघाट २२० केभी, दमक–कावेली १३२ केभी ट्रान्समिशन लाइन प्रोजेक्टमा विश्व बैंकको लगानी छ ।
त्यस्तै, हेटौंडा–ढल्केबर–इनरुवाको नयाँ सबस्टेशन लाइनको डिजाइन, सप्लाई र स्थापनामा पनि विश्व बैंकले पैसा हालेको छ । काठमाडौंको मातातीर्थमा २२० केभीको एअर इन्सुलेटेड सबस्टेशन निर्माण गर्न एसियन डेभलपमेण्ट बैंकले लगानी गरेको छ । नयाँ खिम्ती–बाह्रबिसेमा २२०–४०० केभी ट्रान्समिसन लाइन र मस्र्याङ्दीको मार्कीचोकमा ग्याँस इन्सुलेटेड सबस्टेशन निर्माणमा पनि एसियन डेभलपमेण्ट बैंकले नै सहयोग गरेको छ ।
एउटा दुर्गम जिल्लाको विकट गाउँमा सामान्य परिवारमा जन्मेको व्यक्तिले रातारात अर्बौंको सम्पत्ति जोड्नु शंकास्पद छ । लाखबाट कारोबार शुरु गरेर हजारौं रोपनी जग्गा किन्न, सेयरमा अर्बौं लगानी गर्न, दर्जनौं ठुल्ठूला कम्पनी खोल्न, जलविद्युतमा लगानी गर्न कुनैपनि हालतमा सम्भव छैन । उनको सम्पत्तिको स्रोत अपारदर्शी, अस्वाभाविक र अवैधानिक छ । एउटा व्यापारीले सरकारमा बस्ने सबैलाई हातमा लिएर देशको सम्पत्ति लुटिरहँदा अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले के गर्छन् रु हेर्न बाँकी छ ।
टिप्पणीहरू