अनलाइन मिडियाबाट राजस्व उठाउँदै सरकार
अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको ‘छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ मार्फत यो व्यवस्था गरिएको हो ।
जसअनुसार अब अनलाइन सञ्चारमाध्यम दर्ता गर्दा पाँच हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने छ भने नवीकरण गर्दा दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने छ । यसअघि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था गरिएकोमा त्यसको जिम्मा पुनः सूचना तथा प्रशारण विभागलाई दिइएको छ ।
त्यस्तै, कुनै पनि अनलाइन सञ्चारमाध्यम दर्ता भएपछि प्रमाणपत्रको बहाल अवधि एक आर्थिक वर्ष हुने व्यवस्था कायमै राखिएको छ । यो अवधि समाप्त हुनुअगावै साढे दुई हजार रुपैयाँ शुल्क तिरेर प्रमाणपत्र नवीकरण गर्नुपर्ने छ ।
नवीकरणमा ढिलाई गरिए सम्बन्धित सञ्चारमाध्यमले दश प्रतिशतदेखि दुई सय प्रतिशतसम्म थप दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, तोकिएको अवधिभित्र पनि नवीकरण नगरिए प्रमाणपत्र स्वतः रद्ध हुने प्रावधान राखिएको छ ।
नियमावलीले अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादक परिवर्तन गर्दा, नाम वा ठेगाना फेर्दा, बिक्री वा हस्तान्तरण गर्दा पनि सूचना विभागलाई जानकारी गराउनुपर्ने र त्यसका लागि निश्चित प्रक्रिया पुर्याउनुपर्नेलगायत व्यवस्था पनि गरेको छ ।
टिप्पणीहरू