महानगरको डोजर आज खेलकुद मैदानमा
काठमाडौंको सानो गौचरणस्थित खेलकुद मैदानभित्र बनाइएको अवैध संरचना काठमाडौँ महानगरपालिकाले भत्काएको छ ।
जिल्ला खेलकुद विकास समितिले बनाएको संरचनामाथि महानगर प्रहरी बलको टोलीले आज दिउँसो डोजर चलाएको हो । वडा नम्बर–५ स्थित सो मैदानको जग्गामा १७ वटा सटर बनाएर खेलकुद समितिले भाडामा लगाएको छ ।
सटर खाली गर्न पटकपटक निर्देशन दिँदासमेत अटेर गरेपछि बाध्य भएर संरचना भत्काउनुपरेको महानगरले जनाएको छ । अवैध संरचना हटाउने अभियानअन्तर्गत आज सांकेतिकरूपमा सटर हटाएको नगरप्रहरी निरीक्षक प्रकाश पण्डितले बताए ।
भोलिदेखि निरन्तर भत्काइने जानकारी दिँदै उनले जनआस्थासँग भने,‘आज सांकेतिक रुपमा भत्काएका छौं । उहाँहरूले सामान सार्न समय माग्नुभएकाले भोलि बिहानसम्मको समय दिएका छौं । भोलिदेखि लगातार भत्काउँछौ । एक हप्तामा सकिन्छ होला !’
उनका अनुसार त्यो जग्गा सरकारको हो । सो जग्गामा महानगरले १७ करोड रुपैयाँ लागतमा फुटबल मैदान निर्माण गरिरहेको छ । शुभ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएकोमा प्याराफिट निर्माण गरिसकिएको छ ।
टिप्पणीहरू