काठमाडौंको लगातार तेस्रो जित, प्लेअफको सम्भावना बलियो

काठमाडौंको लगातार तेस्रो जित, प्लेअफको सम्भावना बलियो

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा  काठमाडौं गोर्खाज विजयी भएको छ । आइतबार बेलुकी भएको खेलमा कर्णाली याक्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौंले प्लेअफको सम्भावनालाई बलियो बनाएको  हो ।

जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५५ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । काठमाडौंको लागि जेर्हाड इरासमसले सर्वाधिक ४३ रन बनाए । उनले ३३ बलमा २ छक्का र २ चौका प्रहार गरे । यस्तै जोन सिम्प्सनले ४१ रन बनाउँदा बेन चार्ल्सवर्थले ३४ र मिलिन्द कुमारले १५ रन बनाए ।

कर्णालीको लागि नन्दन यादवले ४ ओभरमा ३५ रन दिएर तीन विकेट लिँदा पवन सर्राफले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । कर्णालीको लागि गुलसन झाले सर्वाधिक ४९ रन बनाए । उनले २२ बलमा ६ चौका र ३ छक्का हिर्काए । यस्तै पवन सर्राफले ३५, मार्क वाटले ३० र नाजिबुल्लाह जद्रणले १२ रन बनाए ।

काठमाडौंको लागि रशिद खानले दुई विकेट लिँदा करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक/एक विकेट लिए ।

जितसँगै काठमाडौं ६ खेलबाट आठ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेल्दै २ अंक जोडेको कर्णाली छैटौं स्थानमा रहेको छ । आजको जितसँगै काठमाडौंले प्लेअफको सम्भावनालाई बलियो बनाउँदा कर्णालीको भने कमजोर भएको छ ।

टिप्पणीहरू