म्याडमको टोलीलाई ११ किलोको च्याङ्ग्रा

म्याडमको टोलीलाई ११ किलोको च्याङ्ग्रा

नेपाल राष्ट्र बैंककी ‘वरिष्ठ’ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना डोल्पालीलाई वित्तीय साक्षरता पढाएर राजधानी फर्केकी छन् । कात्तिक तेस्रो साता सदरमुकाम दुनैमा राखिएको वित्तीय साक्षरता कार्यक्रममा भाग लिन उनी काठमाडौंबाट श्रीमानसँगै बैंकका छ जनाको टोलीसहित सुर्खेत पुगेकी थिइन् । 

बैंकको कर्णाली प्रदेश कार्यालयबाट एक जना सेक्युरिटी गार्ड,दुई वटा गाडी,दुई जना चालक र त्यहाँका कार्यालय प्रमुख पनि दुनै गएको बुझिएको छ । एक दिन,त्यो पनि सामान्य कर्मचारीले सञ्चालन गरे पुग्ने कार्यक्रमका लागि १० जनाको टोली लिएर गएकी डेपुटीले आगामी फागुनमा अवकाश हुने भएकाले ‘एक पन्थ दो काज’ को सिद्धान्तअनुसार से फोक्सुण्डो तालको यात्रा गरेको सुरक्षा श्रोतले बतायो । 

हिँड्न नसक्दा उनलाई घोडा चढाएर उच्चस्थानमा रहेको नेपालको सबैभन्दा गहिरो तालसम्म पुर्याइएको थियो । उमेरमा निकै जेठा श्रीमान् भने अरु कर्मचारी झैँ ठमठम हिँडेका थिए । 

बेलुकी भात मुछ्न सागपात तथा अन्य तरकारी नभएपछि डेपुटी म्याडमको निर्देशनमा कर्मचारीहरुले च्याङ्ग्रा काटेर तालको डिलमा ‘क्याम्प फायर’ गरेका थिए । स्रोत भन्छ, ‘२० किलो जतिको जिउँदो च्याङ्ग्राको मासु आन्द्रा भुँडी र भुत्ला छुट्याउँदा ११ किलो जति बाँकी रह्यो होला । त्यसैलाई झोल र फ्राइ गर्दा एकैछिनमा सकियो ।’

‘२० किलो जतिको जिउँदो च्याङ्ग्राको मासु आन्द्रा भुँडी र भुत्ला छुट्याउँदा ११ किलो जति बाँकी रह्यो होला । त्यसैलाई झोल र फ्राइ गर्दा एकैछिनमा सकियो ।’

यता,बैंकका गभर्नर डा. विश्व पौडेल पनि वित्तीय साक्षरता कार्यक्रममा सहभागी हुने भन्दै पूर्वी पहाडी जिल्ला घुमेर फर्किएका छन् । गत बिहिबार मध्यपहाडी राजमार्ग हुँदै ताप्लेजुङसम्म हिँडेका उनी कार्यक्रम छोट्याएर अस्ति शनिबार राजधानी फर्केका छन् । 

यसअघि ओली सरकारमा आर्थिक तथा विकास सल्लाहकार रहेका युवराज खतिवडाका छोरीज्वाईं तथा बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलसहित मानव स्रोत व्यवस्थापन र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी र गभर्नरको कार्यालयका निर्देशक पनि उनको टोलीमा थिए । गभर्नर र डेपुटीलाई पहाडी भेग घुमाउने उद्देश्यले आयोजना गरिएको वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम बैंकको वित्तीय समावेशी तथा ग्राहक संरक्षण महाशाखाले गरेको हो ।

उनी गत जेठ ६ गते गभर्नर नियुक्त भएयता जेठ तेस्रो साता पनि आधा दर्जन कर्मचारीसहित पोखराबाट बागलुङ हुँदै मध्यपहाडी राजमार्गको यात्रामा निस्केका थिए । त्यसबेला राजमार्गमा होटल थापेका र छेउछाउका किसानलाई बैंकले ऋण नदिएको, राजधानी र ठूला शहरका धनीलाई मात्रै कर्जा उपलब्ध गराएको भन्दै चित्त दुखाएका थिए  । 

गत असार अन्तिम साता जारी चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उनले बैंकहरुले राजमार्गै तोकेर त्यस वरपरका चिया पसले र भोजनालयका साहुजीलाई ऋण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिदिए । आगामी शुक्रबार बैंकले उक्त मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दैछ । तर, गभर्नरले ‘स्टन्टबाजी’ र सस्तो लोकप्रियताको लागि गरेको उक्त व्यवस्थाबाट कति लाभान्वित भए भन्ने आँकडा बैंकले आजसम्म उपलब्ध गराएको छैन  ।

टिप्पणीहरू