यु-१९ प्रिमियर कपमा नेपालको विजयी शुरूवात
एसीसी पुरुष यु-१९ प्रिमियर कप अन्तर्गत भएको खेलमा नेपाल विजयी भएको छ । मंगलबार बेलुकी सम्पन्न खेलमा साउदी अरेबियालाई आठ विकेटले हराउँदै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
जितको लागि २ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि निरज कुमार यादवले सतक र निश्चल क्षेत्रीले अर्धसतक बनाए । निरजले ९० बलमा १३ चौका र एक छक्काको मद्दतमा १ सय १४ रन बनाए । यस्तै निश्चल क्षेत्रीले ७३ बलमा ५ चौका र एक छक्काको सहयोगमा नटआउट ६६ रन बनाउँदा भान्श क्षेत्रीले ३० रन बनाए ।
साउदी अरेबियाको लागि मोहम्मद जुबेर सुन्सारा र हाशिर अहमद सजदले समान एक/एक विकेट लिए ।
यसअघि अजमानस्थित कर्वान मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको साउदी अरेबियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । साउदी अरेबियाको लागि मोहम्मद जुबेर सुनासाराले ४८, मोहम्मद रेहान सिद्दिकीले ४१, ओमाइर अहमद वाहाबले ३९,माज्दीले २५, रायन खानले १७ र हाशिर अहमद साजदले १६ रन जोडे ।
नेपालको लागि अशोक धामीले दुई विकेट लिँदा दयानन्द मण्डल, शुशिल बहादुर रावल, सिब्रिन श्रेष्ठ र डार्श सोनारले समान एक/एक विकेट लिए ।
जितसँगै नेपाल एक खेलबाट दुई अंक जोड्दै समूह 'ए'को शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले दोस्रो खेल २७ नोभेम्बरमा हङकङ,चीनसँग खेल्नेछ ।
टिप्पणीहरू