सि जिनपिङ ‘महान् नेता’,ताइवान चीनका लागि निकै संवेदनशील : डोनाल्ड ट्रम्प
चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । गत महिना दक्षिण कोरियाको दक्षिणी शहर बुसानमा भएको भेटवार्तापछि दुई नेताबीच भएको टेलिफोन संवादले दुई देशबीच कायम रहेको कूटनीतिक गतिलाई निरन्तरता दिएको बताइन्छ ।
राष्ट्रपति सिले वार्तामा पछिल्लो बुसान भेटले चीन–अमेरिका सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाएको उल्लेख गर्दै त्यसयता दुई देशबीचको सम्बन्ध स्थीर र गतिशीलतातर्फ उन्मुख रहेको बताउनुभयो । सहकार्य दुवै पक्षका लागि लाभदायक र टकराव दुवैका लागि हानिकारक हुने तथ्य इतिहासले प्रमाणित गरेको जनाउँदै सिले पारस्परिक सहयोगका क्षेत्रमा विस्तार र विवादका विषय घटाउँदै जाने आवश्यकता पनि औंल्याउनुभएको छ ।
राष्ट्रपति सिले ताइवान प्रश्नमा चीनको आधारभूत अडान पुनः राख्दै ताइवान मातृभूमि चीनमा फर्कनु द्वितीय विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको अविभाज्य हिस्सा भएको अडान राख्नुभएको छ । चीन र अमेरिका फासिवादविरुद्ध एकै मोर्चामा लडेको इतिहास स्मरण गराउँदै उहाँले दुवै देशले विश्वयुद्धको विजयी परिणामलाई चीरकालसम्म जोगाउनुपर्नेमा जोड दिनुभयो ।
प्रत्युत्तरमा राष्ट्रपति ट्रम्पले राष्ट्रपति सिलाई ‘महान् नेता’ भन्दै बुसान भेट आफूलाई अत्यन्तै मन परेको उल्लेख गर्नुभएको बताइन्छ । चीन–अमेरिका सम्बन्धबारे सिका धारणाप्रति सहमति जनाउँदै बुसानमा भएका सहमतिहरू दुवै देशले कार्यान्वयन गरिरहेको अमेरिकी दावी छ । ट्रम्पले ताइवान चीनका लागि अत्यन्त संवेदनशील विषय भएको अमेरिकाले बुझेको पनि उल्लेख गर्नुभयो ।
दुवै नेताबीच युक्रेन संकटबारे पनि छलफल भएको सिसिटिभी प्लसले जनाएको छ । राष्ट्रपति सिले चीन विश्व शान्तिका लागि अनुकूल सबै प्रयासको समर्थन गर्ने सन्दर्भ उल्लेख गर्दै,युक्रेन मामिलामा सम्बन्धित पक्षहरूले विवाद कम गरी चाँडै नै न्यायोचित,स्थायी र बाध्यकारी शान्ति सम्झौतामा पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू