विराटनगरको अपराजित यात्रामा पूर्णविराम
नेपाल प्रिमियर लिग(एनपीएल)मा विराटनगर किंग्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बुधबार बेलुकी सम्पन्न खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराउँदै चितवन राइनोजले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।
जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा अलआउट हुँदै १ सय २६ रनमात्र बनाउन सक्यो । विराटनगरको लागि नवौं र दसौं नम्बरमा ब्याटिङ गर्न आएका मर्चान्ट डे लान्गा र प्रतिस जिसीले विस्फोटक ब्याटिङ गरेपनि टोलीलाई जित दिलाउन पर्याप्त बनेन । डा लान्गाले २२ बलमा ४ छक्का र दुई चौकाको मद्दतमा ३९ रन बनाउँदा प्रतिस जिसीले १२ बलमा ३० रन बनाए । उनले ३ छक्का र दूई चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।
विराटनगरलाई कम योगफलमा रोक्न युवा बलर रञ्जित कुमारले ४ ओभरमा २१ रन दिएर पाँच विकेट लिँदा कमल सिंह एरीले दुई तथा सोहिल तन्भिर, सैफ जैब र कुशल मल्लले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय रन बनाएको थियो । चितवनको लागि रवि बोपाराले अर्धसतक बनाए । उनले ३८ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ६५ रन बनाएका हुन् । जारी सिजन उनको यो लगातार तेस्रो अर्धसतक हो । यस्तै सैफ जैबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० र डेविड मलानले १७ रन बनाए ।
विराटनगरको लागि सन्दीप लामिछाने र मर्चान्ट डे लान्गाले समान दुई/दुई विकेट लिँदा शुभम रान्जानेले एक विकेट लिए ।
जितसँगै चितवन तीन खेलबाट ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने एक खेल बढि खेल्दै ६ अंक जोडेको विराटनगर दोस्रो स्थानमा यथावत रहेको छ ।
टिप्पणीहरू