एनपीएलमा काठमाडौंको तेस्रो जित

एनपीएलमा काठमाडौंको तेस्रो जित

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमाडौं गोर्खाजले तेस्रो जित निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको हो ।

जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको चितवन निर्धारित १७.२ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटिएको हो । चितवनको लागि देव खनाल र रवि बोपाराले समान २१/२१ र सोहिल तन्भिरले १८ बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

चितवनलाई सस्तैमा समेट्न रसिद खानले १.२ ओभरमा ३ रन दिएर तीन विकेट लिँदा करण केसी, मिलिन्द कुमार र शहाब आलमले दुई/दुई विकेट लिए । सन्तोष यादवको नाममा एक विकेट रह्यो ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले १९.४ ओभरमा अलआउट हुँदै १ सय ४२ रन बनाएको थियो । काठमाडौंको लागि जोन सिम्प्सनले अर्धसतक बनाए । सिम्प्सनले २९ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६० रन बनाए । यस्तै मिलिन्द कुमारले ३८ र बेन चार्ल्सवर्थले १३ रन बनाए ।

चितवनको लागि सोहिल तन्भिरले ४ ओभरमा २५ रन दिएर चार विकेट लिँदा रञ्‍जित कुमार र कमल सिंह एरीले दुई/दुई विकेट लिए । रवि बोपाराले पनि एक विकेट लिए ।

जितसँगै काठमाडौं ५ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिदा एक खेल कम खेल्दै ४ अंक जोडेको चितवन चौथो स्थानमा रहेको छ ।

आजै हुने अर्को खेलमा विराटनगर किंग्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्नेछ । खेल बेलुकी ४ बजे शुरु हुनेछ ।

टिप्पणीहरू