सुदूरपश्चिम बन्यो प्लेअफमा पुग्ने पहिलो टोली
साविक उपविजेता सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शनिबार बेलुकी सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम लगातार पाँचौ जित निकाल्दै दुई खेल अगावै प्लेअफमा पुगेको हो ।
यता चारवटै खेलमा पराजित साविक विजेता जनकपुरको भने प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ । जनकपुरले बाँकी आफ्नो तीन वटै खेल जितेपनि अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।
जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पाएको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमलाई जित दिलाउन इशान पाण्डेले अर्धसतक बनाए । उनले ३५ बलमा ८ चौका र एक छक्काको मद्दतमा ५६ रन बनाउँदा विनोद भण्डारीले ४२, हर्मित सिंहले नटआउट २५ र कप्तान दीपेन्द्र सिंह एरीले नटआउट १० रनको योगदान गरे ।
जनकपुरको लागि माज सादाकातले दुई विकेट लिँदा सन्जय कृष्णमुर्थी र आदित्य महताले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । जनकपुरको लागि सन्जय कृष्णमुर्थीले अर्धसतक बनाए । उनले ३८ बल ४ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए । यस्तै जान निकोल लोफ्टी इटनले ३९, आदित्य महताले १५, कप्तान वायन पर्नेलले १४, र माज सादाकतले १२ रन बनाए।
सुदूरपश्चिमको लागि अविनाश बोहोराले ४ ओभरमा ३० रन दिएर चार विकेट लिँदा स्कट कुगेलेइनले तीन र दीपेन्द्र सिंह एरीले एक विकेट लिए ।
जितसँगै सुदूरपश्चिम ५ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ भने चार खेलबाट अंकविहीन जनकपुर पुछारमा रहेको छ।
टिप्पणीहरू