भेनेजुएलाको पक्षमा नेपाली पत्रकार

भेनेजुएलाको पक्षमा नेपाली पत्रकार

न्यायका लागि पत्रकार (जर्नलिस्ट फर जस्टिस) नेपालले भेनेजुएलाका जनताको पक्षमा ‘जर्नालिस्ट सोलिडारिटी विथ द पीपल एन्ड सोभरेन्टी अफ भेनेजुएला’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा अमेरिकाले भेनेजुएलासँगको द्वन्द्वलाई आक्रामक ढंगले बढाएको र समाधान संवादको माध्यमबाट गर्नुपर्नेमा जोड दिइएको थियो । न्याय, सार्वभौमिकता र जनअधिकारको सम्मान गर्दै पत्रकारहरूले शान्तिपूर्ण संवाद र छलफलमार्फत् समस्याको समाधान खोज्न आग्रह गरे।

जर्नालिस्ट फर जस्टिस नेपालका महासचिव टिकाराम खड्काले सार्वभौमिकता र स्वाधिकार सबै राष्ट्रका मौलिक अधिकार भएको र विवादहरू संवादमार्फतै समाधान गर्नुपर्ने बताए। कार्यकारी सदस्य वैकुण्ठ भण्डारी र पत्रकार टंककला तिमिल्सेनाले पनि संवाद र शान्तिको आवश्यकता औंल्याए।

कार्यक्रममा ध्रुव लामिछाने, दिवाकर चौधरी, कुमार भण्डारी, कृस्टिना बस्नेत, कृति आचार्य, दिनेश शाक्यलगायतका पत्रकारहरू सहभागी थिए। नेपाल–भेनेजुएला मित्रता संघका महासचिव फणिन्द्रराज पन्तले शुभकामना सन्देश पठाएका थिए।

अमेरिका र भेनेजुएलाबीचको तनाव पछिल्लो समय बढ्दै गएको छ । अमेरिकाले क्यारेबियन क्षेत्रमा सैनिक उपस्थिती बढाएको र राष्ट्रपति ट्रम्पले मादुरोलाई लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाएका छन्। भेनेजुएलाले यी आरोप अस्वीकार गर्दै अमेरिका आफ्ना प्राकृतिक स्रोत कब्जा गर्न चाहेको बताएका छन्।

टिप्पणीहरू