राष्ट्रपतिकै सामुन्ने हस्ताक्षर गर्ने सुदनको रहर

राष्ट्रपतिकै सामुन्ने हस्ताक्षर गर्ने सुदनको रहर

प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ गतेको प्रदर्शन र २४ गतेको जेन जी विध्वंशलाई ‘जनआन्दोलन’ को मान्यता दिने ‘सम्झौता’मा हस्ताक्षर गर्नुभएको छ । हिजो साँझ सिंहदरबारमा झण्डै सय जना जेनजीहरुको होहल्लाबीच हस्ताक्षर सम्पन्न भएको छ । 

मन्तव्य राख्ने क्रममा प्रधानमन्त्रीले सुदनलाई जेठो छोरा भन्दै अरुलाई चाहिँ छोराछोरीको संज्ञा दिनुभएको थियो । तर, उहाँको खास छोरो बेलायतमा श्रीमतीसँगै बस्छन् । सुदनलाई जेठो छोरोको संज्ञा दिइएकोमा अन्य जेनजीले आपत्ति जनाएका थिए ।

‘हामी नेपाल’ गैर सरकारी संस्थाका संयोजक सुदन गुरुङको नेतृत्वमा उक्त हुुल प्रधानमन्त्री कार्यालय पुगेको भनिएपनि उनीहरुबीच कुनै तालमेल, समन्वय र सहकार्य भएको देखिएन । एकथरि सम्झौताको समर्थनमा ताली बजाइरहेका थिए भने अर्काथरीले सम्झौता च्यातेर प्रधानमन्त्रीकै अघिल्तिर धज्जी उडाइरहेका थिए । कतिपयले अपशब्द बोल्दै प्रधानमन्त्री कार्कीको राजीनामासमेत मागे । 

अस्ति साँझ प्रधानमन्त्रीलाई भेट्न पुगेका गुरुङले सम्झौता राष्ट्रपति रामचन्द्र पौडेलकै सामुन्ने हुनुपर्ने माग गरेका थिए । प्रधानमन्त्रीको बैठक कक्षमा काठमाडौंका मेयर बालेन साहका खास मान्छे कुमार बेनसँगै पुगेका उनले जेन जीसँगको सम्झौता शीतल निवासमा र राष्ट्रपति पौडेलकै रोहवरमा हुँदा मात्रै वैध हुने दाबी गरेका थिए ।

तर, हिजो ‘कामचलाउ’ हिसाबले सिंहदरबारमा गरिएको सम्झौताको स्वयम् जेन जीहरुले तत्काल विरोध जनाइसकेका छन् । अस्ति प्रधानमन्त्रीसँग गुरुङले भनेका थिए, ‘भदौको आन्दोलनलाई वैधता दिनका लागि भए पनि सम्झौता छिटो गरिदिनुपर्यो । तर राष्ट्रपतिको उपस्थितिमा चाहिँ  हुनुपर्यो ।’ गुरुङले अस्ति चर्कोसँग राष्ट्रपतिको उपस्थिति  मागे पनि हिजो सिंहदरबारमा झारा टार्ने तरिकाले सम्झौता भएपछि जेन जीहरु सशंकित भएका छन् ।

प्रधानमन्त्रीसँग अस्ति गुरुङले भनेका थिए,‘हजुरलाई दुई महिनासम्म डिस्टर्ब गर्न चाहिनँ । त्यो बेला अरुले आएर दुःख दिएछन्,त्यसमा मलाई एकदम दुःख लाग्यो । आज छोटो समयको लागि आएको हुँ । आन्दोलनलाई वैधता दिन सम्झौता छिटो गरिदिनुपर्यो । राष्ट्रपतिकै उपस्थितिमा हुनुपर्यो ।’ 

उनले विध्वंशमा संलग्नहरुलाई पक्रेर कानुनी प्रक्रियामा लगिएकोमा पनि असन्तोष जनाए । उनको भनाइ थियो, ‘हाम्रा केटाहरुलाई प्रहरीले धरपकड गरेको छ । अदालतले धेरै धरौटी मागेर तिर्न नसकेपछि पुर्पक्षका लागि जेल जानुपरेको छ । ती सबैले मसँग गुनासो गरेका छन् ।’

टिप्पणीहरू