ओलीसँग फोटो खिचाउने जेनजी सिंहदरबारमा आक्रोशित

ओलीसँग फोटो खिचाउने जेनजी सिंहदरबारमा आक्रोशित

सरकार र जेनजी प्रतिनिधिबीच हिजो साँझ सिंहदरबारमा भएको दश बुँदे सम्झौता विवादरहित रहेन । प्रधानमन्त्री र मन्त्रीहरूकै सामुन्ने जेनजीकै एक सूमहले सम्झौता पत्र च्यातचुत पारेको थियो । 

प्रधानमन्त्री कार्यालयमा सम्झौता हुँदै गर्दा केही युवाले शुरुमा असहमति जनाउँदै विरोध जनाएका थिए । त्यसैक्रममा चर्काचर्की परेपछि जेनजीमन्त्री भनिएका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हात जोडेर शान्त पारेका थियो । 

हस्ताक्षर कार्यक्रममा सम्झौता मान्दैनौँ भन्दै लफडा झिक्नेहरूमध्ये एक युवती अलि बढी नै उग्र देखिएकी थिइन् । ती युवती सुप्रिया ठकुरी रहेको खुलेको छ । 

जाजरकोट घर भएकी उनी हाल काठमाडौँमा बस्छिन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ भन्दै बेला बेला फोटो खिच्न पुग्ने उनी पार्टीको ‘जाजरकोट-काठमाडौँ सम्पर्क मञ्च’की अध्यक्षसमेत हुन् । 

एमाले कार्यकर्ता भैकन खाँटी जेनजी बनेर निस्किएकी सुप्रियाले भदौ २४ गते भीड उक्साएको प्रमाण यसअघि नै बाहिर आइसकेको छ । सिंहदरबारस्थित रेडियो नेपालको गेटअगाडि उभिएर उनले ‘अब मन्त्रालय जलाउन जाऔँ’ भन्दै अगुवाई गरेको सार्वजनिक भिडिओमा देखिन्छ । 

‘अब जाम मन्त्रालय, त्यहाँ ड्याङडुङ गरेर सबै आगो लाम’, उनले भनेकी थिइन्, ‘यहाँ (रेडियो नेपाल) भित्र गएर अब हामी बोल्ने हो ।’ 

उनै सुप्रियाले हिजो सिंहदरबारमा पनि योजनावद्ध ढंगले लफडा गरेको हुनसक्ने आशंका एकथरी जेनजीले गरेका छन् । रक्षा बम र भावना राउतको समूहले सुप्रियालाई एमालेले परिचालन गरेको अनुमान गरेको हो । 

सम्झौताको मस्यौदा गर्ने प्रक्रियामा सहभागी भइरहँदा सुप्रियाले कुनै ‘अब्जेक्सन’ नजनाएको, तर हिजो प्रधानमन्त्री कार्यालयमा अचानक ‘सम्झौता मान्दैनौँ’ भन्नुले शंका उब्जिएको सो समूहका युवाहरू बताउँछन् ।

टिप्पणीहरू