कमरेडको त्यो घर र कमरेडको यो कुटी
– गणेश बराल
तस्बिरमा देखिएको यो भत्किसकेको घर कसको होला ? आजको जमानामा पनि यस्तो घर देख्न पाइन्छ र ? यसै दिमागमा उब्जने सवाल हो यो । तर यो घरको राजनीतिक महत्व छ । भर्खरै गुण्डुप्रवासमा रहेका पूर्व प्रधानमन्त्रीको बसाईले एउटा छलफल र हलचल गराएको सवाल पनि त्यही हो, जहाँबाट हेर्दा यो तस्बिरमा देखिएको भत्किएको घर देखिँदैन । त्यहाँबाट बरु नयाँ बन्न लागेको अर्को घर प्रष्ट आउँछ । ओली कुटी अर्थात् केपी ओली बस्ने घर ।
कुटी शब्दको अर्थ ऋषिमुनीहरू बस्ने घर, एकान्त वा सुनसान ठाउँमा माटो, खरपराल आदिले बनेको सानो घर, झुपडी, छाप्रो, झुप्रो भन्ने हुन्छ । तर गुण्डुतिर कतै बन्न लागेको तस्बिरमै देखिएको अर्को घुमाउने शैलीको यो घर कुन हिसाबले कुटी सावित हुन्छ ? यसरी हेर्दा नयाँ आलिशान भवनले पर्खिरहेको व्यक्तिको व्यक्तित्वले कुन आचरण वा व्यवहार देखाइरहेको मानिन्छ ? जसले आजको समाज र भविष्यका निम्ति विशेष योगदान गरेको होस् ।
दुई तिहाइको शासन ढलेपछि अनि तेह्रथुममा उहिल्यै बेचिएको र दमकमा २०४८ पछि जोडिएको बालकोटमा ठड्याइएको घरको खरानीले सिर्जना गरेको नयाँ घरले त्यही भत्किएको घरलाई गिज्याएको प्रतीत हुन्छ । फेरि पनि सवाल खडा हुन्छ कि त्यो घर कसको हो ? अब भन्नैपर्छ कि त्यो उनै पूर्व प्रधानमन्त्री केपी ओली सानैमा झापा झरेपछि आएर लामो समयसम्म बसेको रामनाथ दाहालको घर हो । रामनाथ दाहाल अर्थात् २०२९ साल फागुन २१ गते सुखानीमा मारिएका शहीद । यो घर अहिले त छैन, भर्खरै भत्काइयो तर तस्बिर जीवितै छ । यही घरमा आफ्नो बाल्यकाल बिताएका केपी ओलीमा कसरी नयाँ नयाँ घरमा सर्ने चाहना बढ्यो होला ? सवाल यो हो ।
बाबु मोहनप्रसाद अहिले पनि झापाको पृथ्वीनगरमा एउटा काठको टाँडे घरमा बस्छन् । त्यो बाटो हिँड्नेहरूलाई सोध्दा थाहा हुन्छ । मोहनप्रसाद त्यतै चोकतिर चियागफ लगाइरहेका भेटिन्छन् । उनी कसरी झापा बसाइँ सरेर आए ? झापा झरेपछि कहाँ कहाँ भौंतारिए ? र, कसरी पृथ्वीनगर पुगे ? कथा लामै छ । पूर्वतिर झोडा खुलेपछि पूर्वी पहाड र अन्यत्रबाट मानिसहरू तराई झरे । राजा महेन्द्रले पूर्वी तराईको झापा, मोरङमा बसोबासका लागि खुल्ला गरेपछि धेरै मानिस तराईतिर ओइरिए । हो, त्यही लर्कोमा थिए मोहनप्रसाद पनि । त्यही क्रममा पुनर्वासको जग्गा पाएर मोहनप्रसाद त्यहाँ आइपुगे ।
आजका बूढा नेताहरू जेनजी हुँदा खाइखेलेको र २०२८ सालको झापा काण्डका रचयिताहरू रातबिरात डुल्दाफिर्दा बस्ने त्यही घर थियो रामनाथ दाहालको । त्यतिबेलै रामनाथ दाहालको परिवार अलिक हुनेखाने रेहछ । कुनै नाताले केपी ओलीले त्यहीँ खुट्टा अड्याए । प्रखर सोच र अडिग विचारका रामनाथ पक्राउ परे र २०२९ सालमा सुखानीमा मारिए । रामनाथकी दुईवटी श्रीमती थिए । त्यसमध्ये एक जना विशेश्वरा दाहाल एकपटक राष्ट्रियसभा सदस्य त भइन् तर अहिले गुमनाम जस्तै छिन् । अर्की श्रीमती घरमै छिन् । झापातिर उही बेलाका क्रान्तिकारी जेनजीहरू पनि छन् । उनीहरूमध्ये कति जनाको घरबार भयो होला ? १७ वर्ष नै जेल बसेका मानकुमार तामाङ ढल्न लागेको घर चार वर्षअघि बल्ल बन्यो । त्यो पनि स्थानीय पहलमा । उता दुर्गा अधिकारी बेघरबार थिए । उनको घर राम कार्की सांसद भएको बेला बन्यो । अरूहरूको नकुरा गरौं किनभने दुःख देखाउँदा दुःखै बढ्छ भन्ने भनाइ छ । तैपनि कुरा निस्किहाल्छ ।
बालकोटको बार्दलीदेखि बालुवाटारबाट हेलिकप्टरको यात्रा सायद रमाइलै थियो होला । यही अनुमान लगाउन सकिन्छ किनभने मधेसमा खडेरी पर्दा पनि त्यसरी नै हेलिकप्टरमा सयर गरिएको थियो । सायद हेलिकप्टरबाट यात्रा गर्दा गाउँका ठुल्ठूला महल पनि झुपडी देखिएलान् । र, त्यही चाहनाले हुनुपर्छ महेश बस्नेतहरूलाई गुण्डुमा कुटी बनाइदिने चाहना बढेको । नत्र यो संकटको सामना गर्न छाडेर को घर बनाउनतिर लाग्ला ? हुन त अहिले एमालेलाई महाधिवेशन लागेको छ । महाधिवेशनको बेला केको घरबार भन्ने प्रश्न उठ्ला तर गुण्डुप्रवासले नदिएको आत्मज्ञान अब महाधिवेशनले देला कि ? सवाल यो छ तर सर्वज्ञानी महात्माहरू मान्न तयार छैनन् । उहाँ नै सर्वज्ञानी हो, महात्मा हो अनि संकटमोचक हो ।
मंसिर महिनाको मौसम अलिक रमाइलै हुन्छ । बिहेको समयदेखि धानबाली थन्क्याउने बेलामा दलहरूलाई कार्यकर्ता ओसार्ने हतारो छ । पूर्वतिर हर्कवाद छाइसक्दा पनि स्वघोषित ठूलाहरूको ताल उस्तै छ । गोर्खातिर सुदन गुरुंगमय भइसक्यो तर पनि पूर्वप्रेमीहरूको भेटघाट चलिरहेकै छ । न देशको निकास, न राष्ट्रको विकास । केही छैन, तैपनि समाजको गति नाप्न छाडेर हावाको उल्टो यात्रामा छन् दलहरू । कांग्रेस रन्थनिएकै छ । एमाले उल्झनमा छ । प्रचण्ड दौडधुपमा छन् । जनता भने धान काट्नमै व्यस्त छन् ।
हरेक उचाइको यात्रा निचाइमा गएर टुंगिन्छ । हिमाल चढेको मानिस उतै बसिरहन सक्दैन । दुई तिहाइको जेट विमान घोप्टेभीरबाट खसेपछि हरेक मानिस पुग्ने रसातलमै हो । कहीँ, कतै नभएको लोकतन्त्रका पर्याय दलहरू विघटनको संघारमा छन् । यो समाजको गति नबुझ्ने नेतृत्वको पातालप्रवास निश्चित छ । त्यो अन्त्यमा महलबाट त्यही कुटीतिरको यात्रा नै हो ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू