किन आयो यस्तो अवस्था ?
एमालेका एक माथिल्ला नेतालाई आसन्न महाधिवेशनबारे बुझ्न सम्पर्क गर्दा उनले जवाफ दिए, ‘ओलीले देशभरिका कार्यकर्ता जम्मा पार्ने र मलाई जिताउनुपर्यो, त्यसको लागि सहयोग चाहियो भन्दै याचना गर्नुपर्ने स्थिति आउनु भनेको उनको हार हो । भलै परिणाममा उनी पुनः अध्यक्ष निर्वाचित भएको देखिएला ।’
ती नेताले कात्तिक २२ गते गोदावरीमा ओलीले ‘कोही छ मेरोविरुद्ध मैदानमा उत्रने ?’ भन्दै दिएको चुनौती सम्झिएर भने, ‘आफैंले देशभरिका कार्यकर्ताको सूचीमा रेजा लाउनुपर्ने, बोलाएर फोटो खिचाउँदै आफ्नो पक्षमा तान्नुपर्ने अवस्था आउनु भनेको दिन सकिएको लक्षण होइन ?’
ओलीलाई नजिकबाट नियालिरहेका नेताहरू भन्छन्, ‘अहिले पनि ओलीले चार जनाको घेराभन्दा बाहिर आफूलाई निकाल्न सकिरहेका छैनन् । विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा, छविलाल विश्वकर्मा, पद्मा अर्याललगायत उनको कोर टिममा छैनन् । उल्लिखित व्यक्तिहरूले गुण्डु पुगेर हाजिरी लगाउने अनि चौतारीले आफ्नै पक्षमा रहेको पुष्टि गर्न आयोजना गर्ने फोटो सेशनमा सहभागी हुनेबाहेक ओलीको खास टिमका भित्री सल्लाहमा हिस्सेदार बन्न पाइरहेका छैनन् ।
प्रतिनिधि छनोटदेखि नै स्वच्छ प्रतिस्पर्धा गर्ने बाटो त्यागिसकेको एक उनीइतर नेताले दावी गरेका छन् । प्रतिनिधि छनोट गर्ने सन्दर्भमा यो–यो व्यक्तिलाई छानेर पठाउनु भनी जसरी उनले सूची तयार गर्नुपर्ने स्थिति आयो यो नै हारको मानक रहेको ती नेताको दावी छ ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू