रक्तदानमा समेत आएनन् एमालेजन

रक्तदानमा समेत आएनन् एमालेजन

महाधिवेशन प्रतिनिधि छान्दाको उदासीनता मात्र होइन, एमालेले गरेको सामाजिक काममा समेत कार्यकर्ताले किन होला चासो देखाउन छाडेको ? प्रसंग हो गत शुक्रबारको । उपत्यका विशेष प्रदेश कमिटीले ११ औं महाधिवेशनको सन्दर्भ पारेर रक्तदान कार्यक्रम आयोजना गरेको थियो । केन्द्रीय कार्यालय च्यासलमा लगभग ४ घण्टा (१२–४ बजेसम्म) चलेको कार्यक्रममा बल्लतल्ल ३० जनाले रक्तदान गरे । 

कार्यक्रम उद्घाटन महासचिव शंकर पोखरेलले गरेका थिए । उनकी पत्नी सुजिता शाक्य उक्त कमिटीको इञ्चार्ज छिन् । शंकर पोखरेलको विरोधी भन्ने लाग्नासाथ सो कमिटी र मातहतका ४ जिल्ला कमिटीमा राखिन्न, राख्नै परे पनि जिम्मेवारी नै दिइन्न । ज्वलन्त उदाहरण हुन्– राजकुमार राई । 

विद्या भण्डारी राष्ट्रपति हुँदादेखिका स्वकीय सचिव । २०६५ सालमा आरआर क्याम्पसको स्ववियु सभापति । देशभरि माओवादीले कब्जा गर्दा एमाले अखिलको इज्जत जोगाउने राई उपत्यका प्रदेशको गत अधिवेशनमा सर्वसम्मत सदस्य चयन भएका थिए । उनीभन्दा जुनियर रमेश भट्टराई, समिक बडाल, वाङ्छु योञ्जन, कल्पना वाइबालाई सचिवालयसहित महत्वपूर्ण जिम्मेवारी दिइएको छ । 

युवासंघका पूर्व अध्यक्ष तथा पार्टी केन्द्रीय रमेश पौडेल, युवा–विद्यार्थी विशेष जिल्ला कमिटीको इञ्चार्जको रुपमा आउँदा शंकर र सुजिताले भनेको भन्दा दायाँबायाँ गर्दिन भनेकोमा अहिले विद्या खेमातिर लागेपछि, उनको रोजाइका युवा–विद्यार्थी विशेष निवर्तमान अध्यक्ष रामजी सापकोटालाई प्रतिनिधि ल्याउन महाभारत भएको थियो । सुजिताले भनेको नमानेकै कारण रामजीले पूरै कार्यकाल कमिटी चलाउन पाएनन् । र, १ वर्ष नपुग्दै अध्यक्ष छाड्न बाध्य भए । रामजी कमिटीबाट बिदा भएको १ वर्षसम्म कुनै पनि जिम्मेवारी नदिएर पेण्डुलम बनाइएको च्यासलतिर सुन्न पाइन्छ ।   

शंकर र सुजिताको फेसबुक स्टाटस सेयर तथा लाइक, कमेन्ट नगरेकै आधारमा कमिटिका उपाध्यक्ष श्यामकाजी खत्री र किरण देउजालाई महाधिवेशन प्रतिनिधिमा नलगिएको पनि त्यतातिर चर्चा छ ।

(जनआस्था साप्ताहिकको मंसिर २४  गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू