ट्रम्पको दाबी झुठो,भेनेजुएलामा अमेरिका विरोधी प्रदर्शन
अमेरिकाले सम्प्रभुसत्तासम्पन्न मुलुक भेनेजुएलामा हिजो राति गरेको सैनिक आक्रमणको विश्वभर विरोध शुरु भएको छ । भेनेजुएलामा सर्वसाधारणले अमेरिकाविरोधी प्रदर्शन थालेका छन् । संयुक्त राष्ट्र संघले अमेरिकाको पछिल्लो गैरकानुनी कदमबारे छलफल गर्न सुरक्षा परिषदको बैठक बोलाएको छ ।
अमेरिकी सैनिकहरुद्वारा अपहरण शैलीमा न्युयोर्क पुर्याइएका राष्ट्रपति निकोलस मादुरो र श्रीमती सिलियालाई त्यहाँको आन्तरिक कानुन र अदालतमा पेश गरिँदैछ । भेनेजुएलाको राजधानी काराकासमा हिजो राति गरिएको आक्रमणमा कसैको पनि ज्यान नगएको र दुई अमेरिकी सैनिक घाइते भएको राष्ट्रपति ट्रम्पको दाबी झुठो साबित भएको छ । न्युयोर्क टाइम्सले उक्त आक्रमणमा सर्वसाधारण र भेनेजुएलाका सैनिक गरेर ४० जनाको ज्यान गएको लेखेको छ ।
उता भेनेजुएलाकी उपराष्ट्रपति तथा कार्यकारी राष्ट्रपति डेल्सी रोड्रिगेजले हिजै दिउँसो आफ्ना राष्ट्रपति र प्रथम महिलाको अवस्था सार्वजनिक गर्न आग्रह गर्दै अमेरिकाको गैरकानुनी कार्यको भर्त्सनासँगै आफू र आफ्नो मुलुकले आत्मसमर्पण नगर्ने बताएकी छन् ।
अमेरिकाको कारण निर्दोष नागरिकको मृत्यु,अकारण सैन्य हस्तक्षेप र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनपछि विश्व राजनीतिमा नयाँ बहस शुरु भएको छ । यसले भेनेजुएलाको राजनीतिक भविष्यसँगै क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय सम्बन्धमा यस संकटको गहिरो असर पर्ने अनुमान छ ।






टिप्पणीहरू