सेनाको कठोर तालिममा को को उत्कृष्ट ?
नेपाली सेनाले हालै विभिन्न मितिमा सञ्चालित तालिमको नतिजा सार्वजनिक गरेको छ । विशेषगरी तल्ला दर्जाका सैनिक जागिर छोडेर विदेश पलायन हुने क्रम बढिरहँदा तालिममा तिनै सैनिक अब्बल देखिएका छन् ।
नतिजाअनुसार तल्ला दर्जाका सैनिकले सर्वोत्कृष्टसहित उत्कृष्ट नम्बर हासिल गरेका छन् । गत साउन २८ गतेदेखि मंसिर १० गतेसम्म प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय,बाराको अमलेखगञ्जमा सम्पन्न सिआइजे डब्लु तालिममा अधिकृततर्फ दुई जना सैनिक अधिकृत र तल्लो दर्जातर्फ एक सैनिकले सर्वोत्कृष्ट नम्बर प्राप्त गरेका छन् ।
नेपाली सैनिक ब्याटल स्कूलका क्याप्टेन विशाल चन्द्रवाजी,सूर्यदल गणका सहसेनानी सुरेन्द्रबहादुर बोहरा र समशेर गुल्मका अमल्दार लोकेन्द्र थापा ए (आई) ग्रेडसहित पहिलो भएका हुन् । त्यस्तै,बी प्लस (आई) ग्रेस अधिकृततर्फ एक जनाले मात्र प्राप्त गर्दा अन्य दर्जातर्फका आधा दर्जन सैनिक अब्बल ठहरिएका छन् ।
महावीर योजना तथा समन्वय महाशाखामा कार्यरत सहसेनानी अमृतबहादुर श्रेष्ठले मात्र बी प्लस (आई) ग्रेड प्राप्त गरेका हुन् । उता, अन्य दर्जातर्फ तारादल गणमा कार्यरत अमल्दार सुदिप थापा,सैनिक उच्च शिखर शिक्षालयका सिपाही सूर्यबहादुर तामाङ,उत्तर पश्चिम पृतना तालिम शिक्षालयका प्युठ सविन थापामगर, नारायणदल गणका सिपाही खिमप्रसाद भण्डारी,महावीर सौर्य गणका सिपाही दिपेश भुजेल र युद्धभैरव गणका सिपाही दिपेश भुजेलले बी प्लस (आई) ग्रेड पाएका छन् ।
यस्तै,बी प्लस ग्रेड अधिकृत र अन्य दर्जा दुवैतर्फ दुई–दुई जना सैनिकले प्राप्त गरेका छन् । अधिकृततर्फ कालीप्रसाद गणका सहसेनानी उज्वल अधिकारी र कालीरक्षा गणका सहसेनानी जनक न्यौपानेले सो ग्रेड पाउँदा अन्य दर्जातर्फ सिद्धिबक्स गणका प्युठ ओमबहादुर दुरा र भैरव गणमा कार्यरत सिपाही शिल्पा कुलुङलाई प्राप्त भएको छ ।
यसैगरी, अधिकृततर्फ १६ जना सैनिकले बी ग्रेड ल्याएका छन् भने तीन जनाले सी प्लस ग्रेड प्राप्त गरेका छन् । अन्य दर्जातर्फ ४८ जना सैनिकले बी ग्रेड हासिल गर्दा १४ जनाले सी प्लस ग्रेड पाएका छन् । सेनाले सिस ७ कर्मकाण्ड ग्रेड १ तालिमको नतिजा पनि सार्वजनिक गरेको छ ।
पण्डितहरुलाई पनि पुरस्कार
सैनिक संगठन निर्देशनालयद्वारा उपत्यका पृतना तालिम शिक्षालयमार्फत गणेशदल गणमा गत कात्तिक ११ गतेदेखि मंसिर ८ गतेसम्म सञ्चालित उक्त तालिममा एकीकृत सैनिक बन्दोबस्ती शिक्षालयका पण्डित जम दिनेश नेपाल ए प्लस (आई) ग्रेडसहित पहिलो बनेका छन् ।
बज्रदल गणका पण्डित जम दिवाकर आचार्य र फष्टरैफल गणका पण्डित जम ईश्वरप्रसाद अधिकारीले ए (आई) ग्रेड हासिल गरेका छन् । बी प्लस ग्रेड ल्याउनेमा पण्डित जमहरु भद्रदल गणमा कार्यरत दिनेशप्रसाद आचार्य,सूर्यदल गणका उमेश कोइराला र देवीदत्त गणका कृष्णप्रसाद ढुङ्गेल शर्मा छन् ।
यस्तै, पण्डित जम जबरजंग गणका नरहरि चापागाईं, प्रशासन तथा व्यवस्थापन महाशाखा, सैनिक हवाई सेवामा कार्यरत बालकृष्ण ज्ञवाली, नं.१ राजदल गणका फणिन्द्रप्रसाद दाहाल, दि फेमस महिन्द्रदल गणका गोविन्द चालिसे, सिद्धिदल गणका खगेन्द्र मिश्र, कृष्णदल गणका शम्भुप्रसाद घिमिरे र रणभीम गणका दिपककुमार काफ्लेले बी ग्रेड प्राप्त गरेका छन् ।
भवानीबक्स गणका पण्डित जम सरोज बराल र राष्ट्रिय विष्द् व्यवस्थापन शिक्षालयका नवराज कोइरालाले भने सी प्लस ग्रेड ल्याएका छन् । नतिजाले तल्लो दर्जाका सैनिक पनि माथिल्लोसरह अब्बल देखिएका छन् । तर, अवसर नपाउँदा, वर्षौंसम्म एउटै पदमा बस्नुपर्दा, हेपाहा प्रवृत्तिलगायतका कारण तल्लो दर्जाका सैनिकहरुले आफ्नो क्षमता देखाउन नपाउनुका साथै जागिर छोड्ने क्रम बढ्दो छ ।
टिप्पणीहरू