पार्टी विलयपछि खगेन्द्रमाथि ‘पपुलिष्ट’ बन्न खोजेको आरोप

पार्टी विलयपछि खगेन्द्रमाथि ‘पपुलिष्ट’ बन्न खोजेको आरोप

आफूलाई ६० लाख दलितको आवाज उठाउने प्रमुख अभियन्ता दाबी गर्दै आएका खगेन्द्र सुनारको राजनीतिक यात्राले पछिल्लो समय नयाँ मोड लिएको छ । २०७७ जेठ १० गते रुकुम पश्चिमको सोती घटनामा नवराज विकसहित ६ युवाको सामूहिक हत्यापछि न्यायको माग गर्दै संघर्ष थालेका सुनार त्यसपछि चर्चामा आएका हुन् ।

गत मंसिर ८ गते गठन गरेको ‘हाम्रो नेपाल पार्टी’ लाई स्थापनाको डेढ महिनामै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय गराएका छन्। हिजो बसेको रास्वपा केन्द्रीय समिति बैठकले सुनारलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

सुनारले पार्टी विलय गराएपछि अन्य दलित अभियन्ताहरूले भने असन्तुष्टि जनाएका छन्। जगत विश्वकर्माले सुनारले व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका कारण पार्टी विलय गराएको बताए । ‘मन्त्री बन्ने लक्ष्यमा उनले दलित आन्दोलनको गरिमा घटाए,’ विश्वकर्माको आरोप छ ।

उनका अनुसार खगेन्द्र गत कात्तिकको पहिलो साता प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा समेत आए । तर उनीविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको विषय सार्वजनिक भएपछि अन्तिम समयमा मन्त्री बन्नबाट  रोकिएका हुन् । ‘उनको लक्ष्य सांसद र मन्त्री बन्ने नै देखिन्छ,’ विश्वकर्माले भने।

दलित अभियन्ता रुपा सुनारले पनि खगेन्द्रको अचानक रास्वपा प्रवेशप्रति आश्चर्य व्यक्त गरेकी छन्। उनले खगेन्द्रको विगतको राजनीतिक उतारचढाव स्मरण गर्दै निर्वाचन आयोगमा दल दर्ता गरेपछि कुलमान घिसिङसँग जोडिएको उज्यालो नेपाल पार्टीको चुनाव चिन्हबाट निर्वाचन लड्ने निर्णय गरे । तर एक सातामै त्यसबाट पछि हटेको उनको भनाइ छ । अहिले घिसिङबाट टाढिँदै बालेन साहसँग नजिकिएको सन्दर्भलाई पनि उनले औँल्याएकी छन्।

खगेन्द्रको एकपछि अर्को दलसँग फेरिएको राजनीतिक सम्बन्धप्रति चिन्ता व्यक्त गर्दै रुपा सुनारले दलित अभियन्ताहरूलाई सचेत रहन आग्रह गरेकी छन्। ‘सही विचारको जगमा उभिएर गरिने कठिन संघर्षबाहेक जात व्यवस्थामा हलचल आउँदैन,’ उनले भनिन्, ‘पपुलिस्ट हल्लाको पछि लाग्दा गन्तव्य अझ टाढा पुग्छ। त्यसैले सही सिद्धान्त पक्रँदै नेतृत्व लिएर नयाँ व्यवस्था निर्माणतर्फ अघि बढ्नुपर्छ।’

विगतमा खगेन्द्रलाई समर्थन गर्दै आएका अन्य दलित अभियन्ताहरू पनि अहिले असन्तुष्ट देखिएका छन्। अभियन्ता सुष्मा विकले खगेन्द्रलाई नेता मानेकोमा पछुतो लागेको बताइन्। ‘यति छिटो विचार बदल्न सक्ने व्यक्ति मेरो नेता हुन सक्दैन,’ उनले भनिन्, ‘विगतको समर्थनप्रति पश्चाताप भइरहेको छ।’

खगेन्द्र सुनारको पछिल्लो राजनीतिक कदमले दलित आन्दोलनभित्रै नयाँ बहस र विभाजनको अवस्था सिर्जना गरेको बताइन्छ ।

टिप्पणीहरू