सुरक्षाको ग्यारेन्टी

सुरक्षाको ग्यारेन्टी

चुनावको वातावरण बनाउन मन्त्रीहरूले एमाले र कांग्रेसका नेताहरूलाई भेटिरहेका छन् । त्यस्तो भेटमा नेताहरूको एउटै मात्र कुरा हुन्छ– सुरक्षाको ग्यारेन्टी हुनुपर्‍यो, त्यसपछि चुनावमा भाग लिन्छौं ।

मुख्य कुरा नै सुरक्षाको ग्यारेण्टी हो । सुरक्षाको ग्यारेन्टी भन्ने सुनेर म आश्चर्यमा परेको छु । किनभने चुनाव हुँदा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना सक्षम छन् भन्ने कुरा त दलहरूलाई थाहै थियो । ती निकायलाई प्रयोग गरेर उनीहरू आफैले कतिपटक चुनाव गरिसके । अब तिनै निकायप्रति फेरि किन शंका ?

मैले कांग्रेसको भित्रसम्मै पहुँच राख्ने कार्यकर्तालाई सोधेँ, ‘तपाइँको पार्टी किन सुरक्षाको ग्यारेण्टी खोजिरहेको छ ? सुरक्षा प्रदान गर्न हामीसँग प्रहरी छ, सशस्त्र प्रहरी छ, सेना छ । किन चिन्ता ?’

कार्यकर्ताजीले भने, ‘त्यो हामीलाई पनि थाहा छ । तर हामीले ग्यारेण्टी खोजेको सुरक्षा त्यो होइन । हामीले खोजेको ग्यारेण्टी अर्कै सुरक्षाको हो ।’
‘कस्तो सुरक्षा ?’ मैले प्रश्न गरेँ । 

उनले भने, ‘चुनावमा हाम्रो सिटको सुरक्षा हुनुपर्छ भन्ने ग्यारेण्टी खोजेका हौं । ज्यानको सुरक्षा होइन, सिटको सुरक्षा खोजेका हौं । कुरा बुझ्नुभन ?’
कार्यकर्ताज्यूको कुरा मैले बुझेँ भन्न सकिनँ, बुझिन पनि भन्न सकिनँ । उनको कुरा वास्तवमा बुझ्नु र नबुझ्नुको बीचमा थियो ।  
 

टिप्पणीहरू