प्रधानमन्त्री र गृहमन्त्री

प्रधानमन्त्री र गृहमन्त्री

– सिंहराज

जेनजी त जेनजी नै भइहाले । रवि लामिछानेलाई चाहिँ ‘जेलजी’ भन्न सकिन्छ । किनभने उनी भर्खरै जेलबाट निस्केका छन् । जेलबाट निस्केकालाई ‘जेलजी’ नै त भन्नुपर्‍यो नि ! हुन त उनी अस्ति पनि जेलबाट निस्केकै थिए । तर, प्रहरीले फेरि समाएर जेलमै पठाइदियो । तत्पश्चात् उनी जेलमै थिए । अहिले फेरि अदालतले मुक्त गरिदियो !

अब सुनिन्छ, नयाँ सरकार बनाउने अभियानमा लागेका छन् । हुन त नयाँ सरकार बनाउन पहिला चुनाव त हुनुपर्‍यो । चुनावै नभए नयाँ सरकार कसरी आउँछ ? संसद पुनःस्थापना भयो भने के गर्ने ? हुन त संसद पुनःस्थापना भए पनि नयाँ सरकार आउँछ । तर रास्वपाको आउँदैन । आयो भने देउवा र ओलीको आउँछ । 

समाचार अर्को पनि आएको छ । रवि लामिछानेले बालेन साहलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् रे ! हुन त त्यो स्वाभाविकै हो । किनभने रविलाई प्रधानमन्त्रीमा होइन गृहमन्त्रीमा रुचि छ । उनलाई गृहमन्त्री भए पुग्छ । गृह आफूसँग राखेर प्रधानचाहिँ उनले बालेनलाई दिएका रहेछन् ।

अब बालेन प्रधानमन्त्री भए भने के होला ? कवाड व्यवसायलाई काठमाडौंबाट हटाएका थिए, अब देशैबाट हटाउने भए । फुटपाथ व्यवसायलाई अस्ति काठमाडौंको फुटपाथबाट हटाएका थिए, अब देशैभरिको फुटपाथबाट हटाउने भए । अस्ति न्युरोडमा मात्रै पार्किङ निषेध गरेका थिए, अब देशैभरिको रोडमा पार्किङ निषेध गर्ने भए । गर्ने त यही होला नि, कि कसो ? 
 

टिप्पणीहरू