दिनहुँ हिसाब देखाउँदै प्रहरी

दिनहुँ हिसाब देखाउँदै प्रहरी

नेपाल प्रहरीले हरेक दिन प्रहरी केन्द्रीय कार्यालय र हरेक महिना जिल्ला जिल्लामा प्रगति विवरण सार्वजनिक गर्न थालेको छ । प्रहरी बाहेकका कार्यालयहरुले मासिक विवरण मात्रै सार्वजनिक गर्ने चलन छ । प्रहरीले पहिलो पटक मासिक प्रगति विवरण सार्वजनिक गर्न शुरु गरेको जानकारी दिइएको छ । 

काभ्रेपलाञ्चोक जिल्लामा भएका गतिविधिका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंसिर महिनाको प्रगति सार्वजनिक गरेको छ । पछिल्लो एक महिनामा २६ वटा अपराधसँग ७८ वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । जसमा १९ सय ६३ जना नागरिक प्रत्यक्ष सहभागी भएका छन् । 

त्यस्तै फैसला कार्यान्वयनमा पनि प्रहरीले सक्रियता देखाएको जानकारी दिएको छ । चेक अनादारका ३ वटा, बैकिङ कसुरका ३ वटा, चोरीका ३ वटा, जालसाजी, लुटपाट र अगंभगंका १÷१ गरी १२ वटा मुद्दामा २ वर्ष १२ महिना १५ दिनको कैद गरिएको छ । त्यस्तै ११ लाख ६२ हजार १ सय ३९ रुपैया जरिवाना असुल भएको छ । 

पछिल्लो एक महिनामा ५३ वटा मुद्दा दर्ता र २१ वटा फछर्याैट भएका छन् । ३२ वटा अझै फछर्याैट हुन बाँकी छ । यो अवधिमा १८ पुरुष, नौ महिला र दुई बालिका गरी २९ जनाले ज्यान गुमाएका छन् । ३२  पुरुष र २ महिला गरी ३४ जना अभियुक्त पक्राउ परेका छन् । १० जना फरार अभियुक्त पक्राउ परेको जानकारी दिइएको छ । 

‘जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरु हरेक महिनामा सार्वजनिक हुनेछ,’प्रहरी निरीक्षक एवम् सूचना अधिकारी बेदनारायण श्रेष्ठले भने, ‘२०८२ मंसिर महिनाको अपराध तथ्यांक पुस २ गते सार्वजनिक गरिएको छ ।’ अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ जघन्य तथा गम्भीर अपराध, महिला बालबालिका तथा ज्येष्ठ नागरीकसँग सम्बन्धित र आर्थिक अपराधका घटना दर्ताको शीर्षकगत तथ्याङ्क सार्वजनिक भएको छ । 

–मोतीराम तिमल्सिना

टिप्पणीहरू