एमालेसँगको गठवन्धन गगन थापाले गरे अस्विकार
फाइल फोटो
राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसँग गठवन्धन गर्ने पार्टी निर्णयप्रति नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टि जनाएका छन् । उनले उक्त निर्णयको पार्टीले संस्थागत स्वामित्व नलिने बताए ।
सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का पार्टीको गरिमा घट्नेगरी गलत दिशामा अघि बढिरहेकाे दावी गरे ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस, एमाले र जसपा नेपालबीच गठबन्धन हुँदैछ । सोहीअनुसार सिट भागबण्डा मिलाएका तीनवटै पार्टीले उम्मेदवारको नामसमेत टुंगो लगाइसेको अवस्थामा महामन्त्री थापाको यस्तो प्रतिक्रिया आएको हो ।
‘विगतमा हाम्रो गठबन्धन भएकै हो, त्यो भदौ २४ गते सरकार ढलेसँगै समाप्त भइसकेको छ, तर अहिले फेरि नेतृत्वले कुन आधारमा तालमेल गर्ने निर्णय गरेको हो, मलाई थाहा छैन’, उनले भने, ‘जुन तालमेल गरिएको छ, त्यसको स्वामित्व हामी लिदैनौँ, यो प्रस्ट पार्न चाहन्छु ।’
पुष २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका थापाले एउटा नेताको कोठामा बसेर गरेको निर्णय सिंगो पार्टीका लागि मान्य नहुने चेतावनी दिए।
‘यस्तो राजनीतिक विषयमा मजस्ता जिम्मेवार नेतालाई थाहै नहुने, सभापतिज्यू यहाँ आउँदै नआउने, अनि दुई-चार जना नेता उहाँकै कोठामा गएर गर्ने निर्णय गर्ने, कांग्रेसमा यो मान्य हुँदैन, तालमेलको निर्णय यो बैठकमा छलफल गरेर गरिएको निर्णय होइन, बाहिरै बसेर गरिएकाे हाे’, उनले थपे।
पार्टीले टुंगो लगाएको भनिएका नौ जना उम्मेदवारमध्ये एक जनासमेत आफ्नो कोटाबाट नपरेको विषयमा पनि थापाले महामन्त्री र कार्यसम्पादन समितिको मानमर्दन गरिएको सुनाए ।
‘हिजोको बैठकमा मैले एउटै व्यक्तिले सबै निर्णय गर्ने हो भने यो समिति किन बनाएको ? भनेर असहमति राखेपछि आज पनि बैठक बसेर छलफल गर्ने निर्णय भयो’, उनले भने, तर रमाइलो के भयो भने, बैठक त बस्यो, बैठकमा नाम प्रस्ताव हुन बाँकी नै छ, छलफल हुन बाँकी नै छ, तर उम्मेदवारहरू मनोनयन पत्र बोकेर आफ्नो जिल्ला फर्किसक्नुभएछ, महामन्त्रीलाई हेप्ने र पेल्ने क्रम त चलिरहेकै थियो, तर महामन्त्री र कार्यसम्पादन समितको यो हदसम्मको मानमर्दन कहिल्यै गरिएको थिएन ।’
टिप्पणीहरू