वारियर्स र राइडर्स फाइनलमा

वारियर्स र राइडर्स फाइनलमा

राजविराज मेयर कप क्रिकेटको फाइनल खेल्ने टोलीको टुंगो लागेको छ ।

फाइनलका लागि बजाज खडक वारियर्स र रुपनी राइडर्सले स्थान पक्का गरेका हुन् । शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै वारियर्स फाइनलमा पुग्न सफल भएको हो ।

राज रंगशालामा सम्पन्न खेलमा वारियर्सले दिएको १८२ रनको लक्ष्य पछ्याएको किंग्सले १५४ रन मात्र बनाउन सक्यो । उसका लागि बिस्फोटक ब्याटिङ गरेका रोबिन सिंहले सर्वाधिक ५१ रन बनाए । अर्धशतकीय योगदान दिने क्रममा उनले मात्र २२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाएका थिए ।

त्यस्तै,सुरज कुर्मीले ३६ रन, प्रशान्त सिंहले २४ रन तथा सोनु अन्सारीले १६ रन योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । पुरै २० ओभर ब्याटिङ गरेको किङ्गसले ७ विकेट क्षतिमा १५४ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर ब्याटिङ गरेको वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १८१ रन बनाएको थियो । वारियर्सका लागि ओपनर अनिल साहले सर्वाधिक ७० रनको योगदान दिए । जुनक्रममा उनले ४९ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।

कप्तान विवेक यादवले १४ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ३७ रन बनाए । त्यस्तै, निरज यादवले ३२ तथा पवन सर्राफले १८ रनको योगदान दिए । बलिङमा गोमानन्द अमात्य, भुलावन साहनी र अनिल खरेलले समान २ विकेट लिए भने पप्पु यादवले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याचमा वारियर्सका अनिल साह चुनिए । वारियर्स र राइडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार व्यहोरेका थिए ।

अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका वारियर्स र राइडर्स उपाधिका लागि शनिबार प्रतिष्पर्धा हुनेछ ।

टिप्पणीहरू