कालोबजारी गर्नेलाई नछोड्न निर्देशन
संसदीय समितिले कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेहरूलाई कारबाही गर्न सरकार मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको हो ।
चारवटै विभागका महानिर्देशकहरूलाई बैठकमा बोलाई उपभोक्ता हक हित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धमा छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।
समितिका सभापति तारादेवी भट्टले उपभोक्ताको हकहितमा केन्द्रीत हुन कानून बमोजिम आ–आफ्नो सीमाभित्र रही कालोबजारी गर्नेहरूलाई निरुत्साहित गर्न सम्बन्धित सबै पक्ष संवेदनशील हुनुपर्ने बताउनुभयो ।
’अहिलेको वर्तमान मार्केट गभर्नेन्सको व्यवस्था नियमित अनुगमन हुनुपर्दछ । डाटाहरू सुव्यवस्थित राख्न, कृतिम अभाव सिर्जना गर्नेहरूलाई कडा कारबाही गर्न आज छलफल भए बमोजिम हाम्रो प्रणाली सुधारमा केन्द्रीत हुन यो समिति नेपाल सरकार र सम्बन्धित सबै विभागहरूलाई निर्देशन दिन्छ,’ उहाँले भन्नुभयो ।
समितिले कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई पनि कडा कानुनी दायराभित्र ल्याई दण्ड र जरिवानासहित कारबाही गर्न निर्देशन दिएको छ ।
टिप्पणीहरू