अध्यक्ष ओलीलाई एकतामा फर्कन आग्रह
नेकपा एमाले नेपाल–खनाल पक्षको आज सम्पन्न आन्तरिक छलफलले वर्तमान परिस्थितिको मूल्यांकन गर्दै एमालेको एकता आवश्यक रहेको हुँदा अध्यक्ष केपी शर्मा ओलीलाई एकतामा फर्कन आह्वान गरेको छ । साथै बैठकले पार्टी एकतालाई बल पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न विभिन्न निर्णयसमेत गरेको छ ।
आज कलंकीस्थित मेगा पार्टी प्यालेसमा भएको स्थायी समिति सदस्यहरुको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा प्रस्तुत अवधारणा पत्र,त्यसमाथि प्राप्त सुझाव र स्थायी समितिले दिएको सुझावलाई एकीकृत गरी व्यापक रुपमा देशव्यापी कार्यकर्तासमक्ष वितरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी पार्टीभित्र देखिएका अन्तरविरोध,राजनीतिक, सैद्धान्तिक पक्ष तथा वैचारिक, संगठनात्मक भिन्नताहरुलाई एकीकृत गरी प्रशिक्षण सामाग्री तयार गर्ने निर्णय पनि आजको छलफलले पारित गरेको छ ।
आगामी दुई महिनासम्म पार्टी संगठन तथा सुदृढीकरण अभियान चलाउने निर्णय गर्दै नेपाल-खनाल समूहले ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ नारा तय गरेको छ । त्यसैगरी दुई महिनासम्म सञ्चालन हुने अभियानमा आगामी जेठ २ गते यसअघि कायम भएका अधिवेशन र महाधिवेशनबाट आएका सम्पूर्ण केन्द्रदेखि वडा कमिटीलाई नै परिचालन गर्ने निर्णयसमेत गरिएको छ ।
ती कमिटीलाई आवश्यकताअनुसार पुनर्गठन गर्ने, देशभरि प्रशिक्षण, भेला, बैठक र आवश्यकताअनुसार केन्द्रीय सदस्यहरुलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाउने निर्णयसमेत आजको छलफलमा गरिएको बताइएको छ । निर्णयमा भनिएको छ-पार्टी एकता रक्षाको लागि देशैभरि विचार गोष्ठी,अन्तरक्रिया गर्ने, बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा एकतालाई ध्यान दिँदै देशैभरि कार्यक्रम गर्ने र विशेष गरी काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरिनेछ ।
सोही क्रममा बैशाख १३ गते मनमोहन अधिकारी स्मृति दिवस मनाउने र बिराटनगरमा विशेष कार्यक्रम गर्ने एवम् जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको अवसरमा चितवनमा विशेष कार्यक्रम समेत आयोजना गर्ने निर्णयमा उल्लेख छ ।
टिप्पणीहरू