एकै दिन प्रहरीका ५०९ कार्यक्रम

एकै दिन प्रहरीका ५०९ कार्यक्रम

कोरोनाको बढ्दो संक्रमणबाट बच्न प्रहरीले देशव्यापी सचेतनामूलक कार्यक्रम चलाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ५०९ वटा सचेतनामूलक कार्यक्रम गरेको र ३९ हजार ६४१ जना सहभागी भएको प्रहरीले जानकारी दिएको छ ।

नयाँ भेरियन्टसहित आएको कोरोना संक्रमणको चुनौतीलाई दृष्टिगत गरी तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त कार्यान्वयन गर्न अभियान चलाइएको प्रहरीको भनाइ छ ।

‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका सचेतनामूलक कार्यक्रमलाई प्रहरीले अभियानकै रुपमा सञ्चालन गरिरहेको प्रहरीले पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई नि:शुल्क मास्क वितरण गरेको छ ।

मास्क नलगाई हिँडडुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको तथा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ८६ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

कोरोनाको जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रम गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध पनि गरेको छ ।

अभियानलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई तिब्रता दिएको जानकारी दिएको छ ।

टिप्पणीहरू