बहुमत हामी हौं,लौ टाउको गन भन्दै प्रदेश प्रमुखलाई घेराउ

बहुमत हामी हौं,लौ टाउको गन भन्दै प्रदेश प्रमुखलाई घेराउ

आज बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशको सत्ता राजनीतिमा क्षण-क्षणमै अपत्यारिला र नयाँ-नयाँ घटना घटिरहेका छन् । दिउँसो शपथ लिनेगरी झिसमिसेमै राजीनामा दिनुभएका मुख्यमन्त्री पोखरेललाई चक्मा दिनेगरी एमालेका तीन सांसदले राजीनामा र पार्टी परिवर्तन गरेपछि लुम्बिनीको सत्ता राजनीतिमा नयाँ मोड आएको छ ।

सरकारविरुद्ध प्रदेशसभामा दर्ता अविश्वासको प्रस्तावमाथि आज छलफल गर्ने कार्यसूची थियो । तर, मुख्यमन्त्री पोखरेलले सवेरै राजीनामा दिएपछि अविश्वासको प्रस्ताव त्यसै तुहियो । राजीनामालगत्तै दलको बैठक बसाएर पोखरेलले एकल बहुमतको सरकार बनाउने र आफैँ मुख्यमन्त्री हुने निर्णय गराउनुभयो । एमालेले एकल बहुमतको सरकार बनाउने निर्णय गरेलगत्तै दाङकी सांसद विमला वली माओवादीतिर लागेपछि पोखरेललाई धक्का लाग्यो । विमलाले एमाले छोडेपछि बहुमत गुमाएको अवस्थामा पनि पोखरेल फेरि मुख्यमन्त्री बन्नुभयो ।

पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएको आधा घण्टा नबित्दै एमालेमा पहिरो जान थालेको छ । एमालेबाट निर्वाचित प्रदेशसभाका एक सांसदले राजीनामा दिएका छन् भने अन्य २ जना विपक्षी गठवन्धनमा उभिएका छन् । कपिलवस्तु २ (क)बाट निर्वाचित दीर्घनारायण पाण्डेले पदबाट राजीनामा दिएका हुन् । ओलीनिकट मानिने पाण्डेले राजीनामा दिएपछि बालुवाटारमा सन्नाटा छाएको बताइन्छ । ओलीपक्षकै धर्मबहादुरलाल श्रीवास्तव (कपिलवस्तु) र अजय शाही (पश्चिम नवलपरासी) पनि विपक्षी गठवन्धनमा पुगेका छन् ।

सांसदहरुले भटाभट पार्टी छोड्न थालेपछि पोखरेल मात्र होइन बालुवाटारलाई समेत अप्ठ्यारो परेको छ । ‘अचम्मै भएको छ। हामीले त विश्वासै गर्न सकेका छैनौँ’, लुम्बिनी एमालेका एक नेताले भने । कतिपयले भने प्रदेशसभा विघटनको तयारी हुनसक्ने आशंका पनि गरेका छन् । जसपा उपेन्द्र यादवनिकट नेता मोहम्मद इस्तियाक राईले आफ्ना मान्छे अल्पमतमा परेपछि संविधानको धारा २३२(३) टेकेर प्रदेश सभा विघटन गर्न प्रधानमन्त्री कस्सिएको आशंका गर्नुभएको छ ।

यता,बहुमत गुमाइसकेको अवस्थामा एमालेको एकल बहुमतको मुख्यमन्त्रीका रुपमा प्रदेश प्रमुख धर्मनाथ साहले पोखरेललाई फेरि नियुक्त गरेपछि विपक्षी गठवन्धन आगो भएको छ । कांग्रेस,माओवादी,जसपा, राजमाे र आजै एमाले छाडेकासहित ४१ सांसदले प्रदेश प्रमुख साहलाई भेटेर पाेखरेलकाे सपथ राेक्न लिखित माग गरेका छन् ।

यसअघि सांसदहरुले प्रदेश प्रमुखको कार्यालय घेराउसमेत गरेको बताइएको छ । विपक्षी सांसदहरु सशरीर उपस्थित भएर हस्ताक्षरसहित माओवादीका कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् । भर्खर आफैँले नियुक्त गरेका मुख्यमन्त्री अल्पमतमा परेपछि प्रदेश प्रमुख यादव महासंकटमा पर्नुभएको छ । सभासदहरुले आफूहरु बहुमतमा हुँदाहुँदै कसरी अल्पमतको मुख्यमन्त्रीलाई शपथ खुवाउन लाग्नुभो भनी अहिले पनि धर्ना कसिरहेका छन् ।

टिप्पणीहरू