नेपाल सुपर लिगमा उपाधि उचाल्ने दुबै टोलीको दाबी
नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) को भोलि शनिबार हुने फाइनलमा धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । ट्रफी सार्वजनिक तथा प्रि–म्याच कन्फरेन्समा बोल्दै दुबै टोलीका कप्तानले उपाधि उचाल्ने दाबी गरेका छन् ।
लिग चरणका खेलबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको काठमाडांै रेजर्सले इलिमिनेटर खेलमा भाग्यले साथ दिएपछि अन्तिम दुईमा स्थान बनाउन सफल भएको थियो । सोही टोली शनिबार पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको धनगढीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
काठमाडौं रेजर्सललाई काठमाडौंको मैदान उत्रिँदा लिग चरण र पहिलो क्वालिफायरमा हारेको बदला लिने अवसर पनि मिलेको छ । टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यसअघिका दुई खेलमा भोगेको पराजयमा भएका कमी कमजोरीलाई सुधार्दै आफ्नो टोली उपाधिलाई मैदान उत्रिने र उपाधि काठमाडौंमा नै राख्ने बताएका छन् ।
प्रशिक्षक महर्जनले केही खेलाडीमा चोट लागे पनि प्रतिस्पर्धाका लागि टोली सक्षम रहेको उल्लेख गर्दै फाइनल खेलमा सुखद् नतिजा निकाल्न आफ्नो टोली तयार रहेको बताए । कप्तान विकेश कुथुले प्रशिक्षकको भनाईलाई समर्थन गर्दै पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ आफ्नो टोली मैदान उत्रिने बताएका छन् ।
उता पहिलो क्वालिफायरमा काठमाडौंमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै फाइनलको ढोका खोलेको धनगढी पनि सहजै उपाधि उचाल्नेमा आत्मविश्वास देखाएको छ । प्रशिक्षक तोपे फुजाले लिग चरण र क्वालिफयारमा निकालेको जितले खेलाडीमा आत्मविश्वास बढेको र फाइनल खेल पनि आफ्नै पोल्टामा पर्ने दावी गरेका छन् ।
यस्तै धनगढीका कप्तान किरण चेम्जोङले सुरुआती खेलमा आफ्नो टोलीले सोचेजस्तो प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा लय समात्न सफल भएको भन्दै फाइनलमा समेत राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा विजयी टोलीलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । फाइनलमा पुगेको धनगढीले लिग चरणमा काठमाडौंलाई २–१ ले पराजित गरेको थियो भने काठमाडौंले इलिमेनेटरको विजयी टोली ललितपुर सिटीमाथि दोस्रो क्वालिफायर खेलमा ३–० को जित निकाल्दै धनढीसँगको भिडन्त पक्का गरेको हो ।
पहिलो पटक आयोजना भएको फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ र व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।
टिप्पणीहरू