बालक यादव कता हराए ?

बालक यादव कता हराए ?

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ११ भगवानपुर गाउँका १३ वर्षीय रवि यादव छ दिनदेखि बेपत्ता छन् ।

आसपासका गाउँ र नातेदारहरुको घरमा सोधखोज गरे पनि केही पत्ता लाग्न सकेको छैन । बाबु जयनारायण यादवको गोजीबाट पाँच सय रुपैयाँ झिकेपछि गाली खाएका यादव रिसाएर शुक्रबारदेखि घर छोडी हिंडेका हुन् ।

घरबाट बेपत्ता बालक रविलाई मामा घर,अन्य आफन्त र साथीसँगीहरुसँग खोजविन गरिएको छ । तर अहिलेसम्म अत्तोपत्तो छैन । उनको खोजविन गरिदिन आइतबार इलाका प्रहरी कार्यालय हनुमाननगरमा जयनारायण यादवले जाहेरी दिएको नायव निरिक्षक सन्जय न्यौपानेले बताए । जाहेरीपश्चात् बालकको खोजी तीब्ररुपमा भईरहेको प्रहरीले जनाएको छ ।

केही गाउँलेका अनुसार वडाध्यक्ष मोही यादवले बच्चालाई दुरुत्साहन गरी लुकाएर राखेको आशंका गरिएको छ । वडाध्यक्ष यादव बालकको नातेदार पर्छन् । दुवै परिवारवीच पारिवारिक मनमुटाव रहेको कारणले उनले लुक्न बालकलाई दुरुत्साहन गरेको आरोप केही गाउँलेले लगाएका छन् । सई न्यौपानेले यसबारे आवश्यक छानबिन सुरु गरिएको बताउनु भएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सो घटनालाई गम्भीर रुपमा लिई आवश्यक अनुसन्धान गर्न निर्देशन दिइएको बताउनुभएको छ । यो घटनामा जिल्लाका मानवाधिकारवादीहरुले चासो व्यक्त गर्न थालेका छन् ।

टिप्पणीहरू