राप्रपाको लफडामा रेखा थापाको चिन्ता

राप्रपाको लफडामा रेखा थापाको चिन्ता

कलाकारितासँगै राजनीतिलाई पनि अगाडि बढाइरहेकी अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएकी छन् । कुनै जमानामा चल्तिकी नायिका थापा अहिले राप्रपाको राजनीतिमा सक्रिय छन् । उनै थापाले राप्रपाले आज गठन गरेको केन्द्रीय विशेष समितिको औचित्यमाथि प्रश्न उठाउँदै कुन चाहिँ राप्रपाले देश हाँक्ने हो ? भनेर सोधेकी छन् ।

राप्रपाको केन्द्रीय विशेष समितिमा बुढा नेताको बर्चस्व रहेको र समावेशी नभएको टिप्पणी भइरहेका बेला थापाले सामाजिक सञ्जालमा लेख्दै प्रश्न गरेकी छन्, ‘कुन चाहिँ राप्रपाले देश हाक्ने हो ? त्यो राप्रपा जसले देशमा को–को मान्छे बस्छन् थाहा पाएको हुन्छ । न्यूनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक वैचारिक नमूना पेश गर्छ, सभ्यताको मागअनुसार इतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ ।’

राप्रपाको निर्णयले महिलालाई बहिष्करणमा पारेको, श्रमिक, मजदुर, युवा र किसानलाई उपेक्षा गरेको आरोप लगाउँदै अभिनेत्री थापाले विरासतको रुपमा राजनीतिलाई कोठामा सीमित गराइएको बताएकी छन् ।

‘त्यो रा.प्र.पा जो महिलालाई बहिष्करणको नमुना देखाउँछ, मजदुर, किसान, श्रमिक र युवासँग डराउँछ, विरासतको रुपमा राजनीतिलाई कोठे बनाउँछ, बहसमा उत्रिँदैन–सम्झौतावादी राजनीति गर्छ, अवैज्ञानिक रुपमा पार्टी सञ्चालन गर्छ, आत्मसुरक्षाभन्दा अरु सोच्दैन र सँधै रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रिय मान्छे लत्याउने र आर्थिक हैसियतमा निर्णय गर्दछ,’ उनले भनेकी छन् ।

थापाले थप प्रश्न गरेकी छन्, ‘कुनचाँही राप्रपा वैकल्पिक शक्ति बन्ने हो ? कुनचाँही राप्रपा मौलिक रुपमा सबैको पार्टी हो ? कुनचाँही राप्रपा उदाउँदो राप्रपा हो ? कुनचाँही राप्रपा नाम मात्रको पार्टी हो ? कुनचाँही राप्रपा व्यवहारमा–वयस्क र रिटायर्डहरुको सरोकार समूह मात्र हो ? कुन राप्रपा हामी सबैको राप्रपा हो ?’

यसअघि तत्कालीन माओवादी पार्टीमा रहेकी अभिनेत्री थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कम्मर मर्काइ–मर्काइ नाचेपछि केही समय निकै चर्चामा आएकी थिइन् ।

टिप्पणीहरू