कृशला हत्यामा संलग्न दुई जना पक्राउ

कृशला हत्यामा संलग्न दुई जना पक्राउ

उदयपुरको बहुचर्चित कृशला हत्याकाण्डमा संलग्न अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्यामा संलग्न रहेको अभियोगमा सप्तरी सुरुङ्गा नगरपालिका १ का २७ वर्षीय उचित सदा र २३ वर्षीय विशे सदालाई आज सार्वजनिक गरिएको हो । प्रारम्भिक वयानमा दुवै अभियुक्तले कृशलाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

त्रियुगा नगरपालिका वडा नम्बर ६ मोहनपुरको घरबाट दिउँसो २ बजे निस्केकी सदाको सोही दिन जंगलमा हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेका छन् । अभियुक्त उचित सदाले आफ्नो घरबार बिगार्नको लागि कृशला मुख्य कारण रहेको दोष लगाउँदै नियोजित रुपमा हत्या गरेको बताएका छन् । अभियुक्तमध्ये एकले लडाएर माथिबाट घाँटी थिचेको र अर्को अभियुक्तले मुड्की प्रहार गरी ज्यान लिएको बताइन्छ ।

अभियुक्तहरुले साउन १३ गते कृशलालाई अनेकौँ कुराले अल्झाएर करिब ७ घण्टा जंगलमा राखेर राती हत्या गरेका थिए । उनको शव बेवारिसे अवस्थामा गोठालाहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको वस्तुस्थिति मुचुल्का उठाएर पोष्टमार्टमको लागि शव उदयपुर अस्पताल ल्याएको थियो ।

हत्यामा कुनै प्रकारको हतियारहरु प्रयोग नगरिएको दावी प्रहरीको छ । प्रहरीका अनुसार सामाजिक सञ्जाल र केही पत्रपत्रिकामा खबर आए झैं एसिड प्रयोग गरे नगरेको र बलात्कार नभए नभएको रिपोर्ट फोरेन्सिक जाँचको रिपोर्ट आएपछि मात्रै थाह लाग्नेछ । उदयपुर अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानबाट पोष्टमार्टम तथा प्रारम्भिक जाँचपछि भिसेराहरु परिक्षणको लागि विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या भएको ६ दिनपछि सडेगलेको अवस्थामा चौधरीको शव राजदेवी सामुदायिक बन रातमाटे खहरे खोलामा वेवारिसे अवस्थामा फेला पारेको थियो । उनको शवलाई पोष्टर्माटमको लागि उदयपुर अस्पतालमा ल्याएको बेला उनको पीता प्रेमकुमार चौधरीले पहिचान गरी सनाखत गरेका थिए ।
उनको हत्याको विरोधमा राजनीतिक संगठनदेखि लिएर सामाजिक संघसंस्थाहरुले उदयपुरमा दिनहुँ जसो प्रदर्शन गर्दै आएका थिए ।

मृतक कृशला र अभियुक्त उचित सदाको दोस्रो श्रीमती भनिएकी रोजिना (नाम फेरिएको) साथी रहेको गाउँलेले बताएका छन । निज सदासँग रोजिनाले हालसालै मात्र सम्बन्ध टुटाएर अर्कोसँग घरव्यवहार गरेको बुझिएको छ । यसै विषयलाई लिएर कृशलासँग अभियुक्त उचित सदाले बदला लिएको प्रहरीको प्रारम्भिक वयानमा बताएका छन् । घटनाबारे थप अनुसन्धान गर्न उदयपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

टिप्पणीहरू