बिहान बसमा, दिउँसो प्रहरी खाेरमा

बिहान बसमा, दिउँसो प्रहरी खाेरमा

सार्वजनिक सवारीसाधनमा पाकेटमारी गर्ने चार जना समातिएका छन् । काठमाडौं उपत्यकामा चल्ने भाडाका गाडीमा चढेर पाकेटमारी गर्दै आएका उनीहरुलाई प्रहरीले पक्रेको हो । 

पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकाली नगरपालिका–२, का ३७ वर्षीय सरोज खडका, काँडाघारी बस्ने काभ्रेका ४२ वर्षीय विकास लामा, टोखा बस्ने तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर छन् । 

मित्रनगर बस्दै आएका बागलुङका ३७ वर्षीय दिपेन्द्र शर्माको हिजो सार्वजनिक यातायातमा झण्डै तीन लाख रुपैयाँ हराएको थियो । उनी गोगंबु जान बिहान ११ बजेतिर सिनामंगल गोल्डेनगेटबाट मयुर यातायात चढेका थिए ।

उनले साथमा कालो रङको साईट ब्याग बोकेका थिए, जसमा दुई लाख ७५ हजार रुपैयाँ रहेको थियो । तर, गाडीमै रकम चोरिएपछि उनी प्रहरी वृत्त गौशाला पुगे । शर्माले दिएको उजुरीका आधारमा प्रहरीले तत्कालै सम्बन्धित ठाउँको सिसिटिभी फुटेजमार्फत पाकेटमारहरुलाई समातेको हो ।  

उनीहरुलाई हिजै दिउँसो तिलगंगाबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू