एमालेले लालटिन बालेको ठाउँमा काँग्रेसको धर्ना
काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानमा कात्तिक २ गतेदेखि कर्मचारीहरुको बिरोध कार्यक्रम जारी छ । संस्थानमा कर्मचारी संघ र कर्मचारी संगठनले विभिन्न माग राखेर धर्ना र प्रदर्शन गर्दै आएका छन् ।
बिरोध प्रदर्शनअन्तर्गत आज संस्थानमा एमाले निकट आधिकारिक ट्रेड युनियन दुग्ध विकास संस्थान कर्मचारी संगठनले लालटिन बालेको छ । महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई आफना माग पूरा गराउन उनीहरुले बिरोधस्वरुप कार्यालयभित्र एउटा लाल्टिन बालेका हुन् ।
तर नेपाली काँग्रेस सम्बद्ध नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघले भने धर्ना दिएको छ । आफ्ना ७ बुँदे माग पूरा नगरेको भन्दै आधिकारिक ट्रेड युनियनले कार्यालयको काममा अवरोध नहुने गरि आज बिहान १० बजेदेखि लालटिन बालेको हो ।
काँग्रेसी युनियनले भने बिहान सवा १० बजेदेखि धर्ना दिएको छ । दुबै युनियनले व्यवस्थापनसँग यसअघि भएका सम्झौता लागू गर्न, संस्थामा वर्षौंदेखि कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरुलाई करारमा भर्ना गर्नुपर्नेलगायतका माग राखेका छन् ।
टिप्पणीहरू