जनयुध्दका बेपत्ताको १९ वर्षपछि काजकिरिया

जनयुध्दका बेपत्ताको १९ वर्षपछि काजकिरिया

-पूजा लम्साल

मोरङको कानेपोखरी गाउँपालिका-४ खोरिया टोली निवासी एक परिवारले दश वर्षे जनयुद्धका क्रममा बेपत्ता भएका आफ्ना छोराको १९ वर्षपछि काजक्रिया गरेको छ ।

२०५६ सालदेखि पूर्णकालीन भएर माओवादी जनयुद्धमा लागेका जेठो छोरो सुनिल धिमाल २०५८ कार्तिकदेखि बेपत्ता भएको र वर्षौँ बितिसक्दा पनि घर नफर्किएपछि आमाबाबुले आत्मशुध्दिका लागि काजकिरिया गरेका हुन् । बेपत्ता सुनिलका बृध्दआमाबाबुले लामो समय पर्खदा पनि छोरा फर्केर नआएपछि ६ कार्तिक २०६८ मा काजक्रिया सुरु गरेर ९ कार्तिकमा बिधिवत सम्पन्न गरेका थिए ।

‘जनयुद्धमा लागेकै कारण सेनाले मारेको हल्ला चलेपनि बेपत्ता भएको छोरो फर्केर आउने आशमा १९ वर्षसम्म बाटो हेर्यौँ, तर फर्केर नआएपछि उसको आत्मा नभडकियोस् भनेर कुल समाजको सल्लाह अनुसार गुरुपुरोहित (ओझा) पढाएर धर्म संस्कार अनुसार काजकिरिया गरिदिएका हौ’, सुनिलका ६७ बर्षिय बाबु रामबहादुर धिमाल र ६५ बर्षिय आमा दलीमाया धिमालले भने ।

धिमाल कुलका बाहुन (ओझा) खसेन्द्र धिमालका अनुसार बेपत्ता भएको व्यक्त्तिको १२ वर्षसम्म पत्तो नलागे बिधिवत काजकिरिया गर्नुपर्ने परम्परा छ । तर बुढा भैसकेका आमाबाबुको मनमा चोट नपुगोस् भनेर हतारमा काजकिरिया नगरि बल्ल काजकिरिया गरेर आत्मालाई शान्ति प्रदान गरेको हौ’, ओझा खसेन्द्र धिमालले भने ।

आमा दलीमाया र बाबु रामबहादुरका अनुसार तीन छोरामध्ये सुनिल धिमाल जेठा हुन् । गाउँमा ७ कक्षा पढेर विद्यालय छाडन बाध्य भएका उनी २४ बर्षको उमेरमा २०५६ सालमा माओवादी जनयुद्धमा लागेका थिए । माओवादीमा पूर्णकालीन सदस्य बनेका उनी बेला-बेला घर आइरहन्थे । खेतीपातीमा पनि सघाउँथे । धेरै बोल्दैनथे ।

तर, माओवादीमा लागेकै कारण उनलाई २०५८ कार्तिकमा तात्कालीन शाही सेनाले पक्राउ गरेको थियो । त्यसपछि हालसम्म सुनिलको अत्तोपत्तो छैन । धेरैले सुनिललाई मोरङकै चिसाङ खोलाको जंङगलमा लगेर सेनाले गोली हानी हत्या गरेर लास गाडीमा राखेर बेपत्ता बनाएको देखेको बताउने गरेको सुनिलका कान्छा काका धनबहादुर धिमालले सुनाए ।

बेपत्ता सुनिल सरल स्वभावका थिए । गरिबीले पढाई छाडेपनि गाउँमा खेतीपाती गर्न सघाउँथे । २०५६ मा उनी परिवर्तनका लागि भन्दै माओवादी जनयुद्धमा लागेर पूर्णकालीन भए । गाउँमा धेरै सुधारका कामहरु पनि गरे ।

तर, दुई वर्ष नबित्दै उनलाई मोरङको दोमाना बजारबाट शाही सेनाले पक्राउ गरेर बेपत्ता बनायो । यता बृद्ध आमाबाबु बेपत्ता भएको छोरो आज आउला भोलि आउला भन्ने आशमा १९ वर्षसम्म पर्खिरहे । तर, सुनिल कहिल्यै फर्केर आएनन् । र अन्तमा कुल बंशको परम्परा र अगुवाहरुको सल्लाहअनुसार काजकिरिया गर्न बाध्य भए ।

रामबहादुर र दलीमायाका तीन छोरामध्ये माइला लिलाबहादुर घरमै खेतीपाती गरेर जिविका चलाउँछन् । कान्छा अमरबहादुर बैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् ।

दुई छोरीमध्ये एक छोरीको भारतमा बिहे भएको र उनको मृत्यु भैसकेको छ । पहिले एक विगाहा जमिन भएका रामबहादुरले छोराहरुलाई अंश दिइसकेका छन् । हाल उनको भागमा जम्मा जम्मा चार कठा जग्गा मात्र छ ।

शहिद परिवारका लागि भनेर सरकारले पटक-पटक गरेर १० लाख रुपैया दिएको थियो । तर, त्यो पनि छोरा खोज्न भौतारिदै सकिएको रामबहादुर सुनाउछन् । बँचेको पैसा उनले गाउँमा व्याजमा लगाएका छन् । अहिले त्यही ब्याजको पैसाले जेनेतेन गुजारा चलिरहेको उनको भनाइ छ ।

सरकारले शहीद परिवारलाई मासिक भत्ता दिने भनेको तर अझै कार्यान्यवन नभएकोमा बेपत्ता सुनिलका बाबुआमा खिन्न छन् । भन्छन, ‘सरकारले हामी जस्ता शहीद परिवारलाई मासिक तीन हजार भत्ता दिन्छु भनेको कुरा पुर्याउनु पर्यो कमसेकम हामी बुढेसकालमा बाँच्न त पाउने थियौ ।,’

टिप्पणीहरू