पेट्रोलियम मूल्यवृद्धिविरुद्ध सबै विद्यार्थी संगठनको एक मुख
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सडक संघर्षमा उत्रिएको छ । अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा आज राजधानीमा क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले सरकार र आयल निगमबिरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले ‘अखिल क्रान्तिकारी जिन्दावाद !’, ‘जनता मारा सरकार मूर्दावाद !’ ‘महँगो मूल्यवृद्धि खारेज गर !’, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर !’, ‘दलाल र माफियाहरू मूर्दावाद’, जस्ता नारा लगाएका थिए ।
यता, सत्ता गठबन्धन निकट चारसहित ६ विद्यार्थी संगठनले पनि इन्धनमा भएको पटक–पटकको मूल्यवृद्धिबिरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गर्दा जनताको जनजीविकामा कठिनाई उत्पन्न भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन विज्ञप्ति मार्फत् आग्रह गरेका हुन् ।
माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियू, विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), जनमोर्चाको अखिल छैठौँ, जसपाको समाजवादी विद्यार्थी युनियन र क्रान्तिकारी माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम–नेपाली जनजीवनमा सृजना गरेको कठिन परिस्थितिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टीतेल जस्ता पदार्थमा चाडवाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ ।’
सरकार नियन्त्रित आयल निगम तेल व्यापारीको जस्तो भूमिकामा देखिएको भन्दै उनीहरुले आयल निगमभित्रका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति रोक्न पनि माग गरेका छन् । जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उपायहरुको खोजी गर्नेतर्फ पूर्णउदासीन रहेको निगम अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिएर एकोहोरो रुपमा भाउ बढाउन तल्लिन रहेको विद्यार्थीहरुको भनाइ छ ।
सरकारले पछिल्लो पटक अस्ति रातिदेखि लागू हुने गरि डिजेल, पेट्रोललगायतका इन्धनमा चर्को मूल्य वृद्धिको निर्णय गरेको छ । निगम स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेकाले आगामी दिनमा थप मूल्यवृद्धि हुनेछ ।
टिप्पणीहरू