साँझमा प्रधानन्यायाधीशसँग न्यायाधीशहरुको भेट, भोलिदेखि इजलास बस्ने
इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग पुनः भेटवार्ता गरेका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका उनीहरुले आजको आन्तरिक छलफलपछि वार्ता गर्ने निर्णय गरेका थिए ।
सर्वोच्च अदालत स्रोतका अनुसार राणा आफैँले सम्मानजनक बहिर्गमन खोजेको सन्देश पठाएपछि न्यायाधीशहरु पुनः वार्ताका लागि तयार भएका हुन् । यसअघि सर्वोच्चका १४ जना न्यायाधीशहरुले राणालाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर, राजीनामा नगर्ने राणाको अडानपछि इजलास छोडेर उनीहरु अलग्गै छलफल गर्दै आएका छन् ।
प्रधानन्यायाधीश राणाले आफूनिकट न्यायाधीश डा. मनोजकुमार शर्मामार्फत् सम्मानजनक बहिर्गमन खोजेको सन्देश पठाएपछि न्यायाधीशहरु भेटवार्ताको निर्णयमा पुगेको बताइएको छ । प्रधानन्यायाधीशसँग वार्ताका लागि न्यायाधीशहरुले वार्ता समितिसमेत बनाएका छन् । समितिमा आजैमात्र मुक्तिनाथ दर्शन गरी फर्किएका सपना मल्ल प्रधान, अनिलकुमार सिन्हा र डा. शर्मा रहेका छन् ।
प्रधानन्यायधीश राणासँग वार्ताका लागि पौने पाँच बजे राणाको च्याम्बरमा छिरेका समितिका सदस्यहरुले मार्गप्रशस्त गर्न सुझाव दिएर फर्किएको बुझिएको छ । साथै प्रधानन्यायधीशले भनेको सम्मानजनक बर्हिगमन सम्बन्धमा पनि उनीहरुले चासो राखेको बताइएको छ।
वार्ता समितिमा सहभागी न्यायाधीशहरुले भोलि बिहान अन्य न्यायाधीशलाई प्रधानन्यायधीशसँगको छलफलबारे ब्रिफिङ्ग गर्ने र त्यसपछि थप निर्णय लिने जनाइएको छ ।
यसैबीच इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरुले भोलिदेखि बन्द्रीप्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने भएका छन् ।
टिप्पणीहरू