तिहारमा जतिसक्यो धेरै झिलीमिली बत्ती बाल्न घिसिङको आग्रह

तिहारमा जतिसक्यो धेरै झिलीमिली बत्ती बाल्न घिसिङको आग्रह

नेपाल विद्युत प्राधिकरणले भोलि साँझ लक्ष्मी पूजाका दिन सर्वसाधारणले मनग्गे बत्ति बाल्न मिल्ने गरि व्यवस्थापन मिलाइएको बताएको छ । १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको प्राधिकरणले सोहीबमोजिम व्यवस्थापन गरिएको आज जानकारी गराएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा मुलुकको विद्युत प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको जानकारी गराउँदै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नरहेको बताउनुभएको छ ।

अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै उहाँले तिहारमा कतै पनि विद्युत अभाव नहुने जानकारी दिनुभयो । उहाँले आमनागरिक तथा उपभोक्ताहरुलाई ढुक्कसँग बिजुली बाल्न र झिलिमिलि पार्न आग्रह गर्नुभएको छ ।

बेला बेलामा बत्ती निभ्ने गरेको समस्यालाई आफूले गम्भीरताका साथ लिएको बताउँदै घिसिङले वितरण प्रणालीमा व्यापक सुधार गरिने वचन समेत दिनुभएको छ ।

टिप्पणीहरू