बिहान दीर्घायुको कामनासहित भाइटीका, सोही रात तीन भाइको प्राणान्त !

बिहान दीर्घायुको कामनासहित भाइटीका, सोही रात तीन भाइको प्राणान्त !

यमराजको नजर नपरोस् भन्ने शुभकामनासहित दिदीबहिनीहरुले कात्तिक २० गते बिहान ११:०२ बजेको साइतमा भाइटीका लगाइदिए । चेली–माइतीको भेटघाट, खुशीयाली र एकापसमा हार्दिकता साटासाट गर्दै छुट्टिएका तिनै माइती सोही रात यमराजको नजरमा पर्दा कसको मन नदुख्ला र ?

भाइटीकाकै दिन तीन जनाको ज्यान जानेगरी मकवानपुरमा दुईवटा घटना भएका छन् । भाइटीकाको रात हेटौँडा उपमहानगरपालिका १९, नेवारपानीस्थित सडक किनारमा द्यौसी–भैलोसहित सांस्कृतिक कार्यक्रममा सरिक दुईजना युवाको सवारी दुर्घटनाबाट ज्यान गएको छ भने अर्का २८ वर्षका युवा मनहरी गाउँपालिका ६ मा सोही रात हात्तीको आक्रमणबाट मारिएका छन् ।

गौरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०९३६ नम्बरको रात्री बसले हेटौँडा १९, नेवारपानीमा विपरित लेनमा पुगेर सांस्कृतिक कार्यक्रममा रमाइरहेको समूहलाई कुल्चेको हो । सो क्रममा हेटौंडा १९, नेवारपानी निवासी २० वर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षका प्रेमबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भयो । अन्य ८ जना घाइते हेटौँडा र चितवनका अस्पतालमा उपचार गरी घर फर्केको प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए भने सावधानीपूर्वक बसका चालक रौतहट जिल्ला चन्द्रपुर ५ का अमितकुमार कार्कीलाई नियन्त्रणमा लिइएको छ । चालक कार्कीले मादक पदार्थ सेवन गरी अनियन्त्रित ढंगले बस चलाएको स्थानीयको आरोप छ । तर स्वास्थ्य जाँच गर्दा मादक पदार्थ सेवन गरेको नपाइएको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारणको लागि खोजी जारी राखिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जयईश्वर रिमालले बताउनुभयो । बसमा आगजनीपछि इलाका प्रहरी कार्यालय, मनहरी, नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरले भीड नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको थियो । बसमा आगलागी भएपछि केही समय राजमार्ग समेत पूर्णरुपमा बन्द गरिएको थियो ।

यता द्यैसो–भैलो खेल्न र स्थानीय आफन्तजन भेट्न चितवनको राप्ती नगरपालिका १, नयाँ बस्तीबाट मकवानपुरको मनहरी गाउँपालिका ६, खयरघारी आउँदै गरेका तीनमध्ये एक जनालाई जंगली हात्तीले आक्रमण गरेर प्राण लिएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १ का सागर तामाङ रहेको इलाका प्रहरी कार्यालय, मनहरीले जानकारी दिएको छ ।

सागरसँगै आएका कृष्णबहादुर तामाङ भाग्ने क्रममा घाइते भएको र अर्का एक जन सकुशल रहेको प्रहरीको भनाइ छ । जंगली हात्तीले दुर्गाबक्स गण सुनाचुरी ब्यारेक नजिकैको लोथर खोला बगर छेउमा आक्रमण गरेको हो ।

दीर्घायुको कामनासहित चेलीले टिका लगाएर बिदाइ गरेका माइतीहरुले राति द्यौसी खेल्न निस्केका बखत दुःखद् घटनामा ज्यान गुमाउनुपरेको छ । यसैबीच द्यौसी खेल्न बकैया पुगेको लोकदोहोरी गीत प्रतिष्ठान, मकवानपुरको टोली चढेको बस पल्टँदा घाइते भएका तीन जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार जारी छ । तीनजनामध्ये नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङको अपरेसन गरी फियो निकालिएको छ ।

टिप्पणीहरू