फेरि इम्बोइस्ड नम्बर प्लेटको सिजन शुरु

फेरि इम्बोइस्ड नम्बर प्लेटको सिजन शुरु

सरकारले मंसिर १ गतेदेखि फेरि सवारी साधनमा इम्बोइस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सम्पूर्ण सवारी साधनमा अनिवार्य इम्बोस्ड प्लेट लगाउने निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार हाल पाँच वटा प्रदेशमा उक्त निर्णय कार्यान्वयन गरिने छ । लुम्बिनी, गण्डकी, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंसिर १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागू हुने बताइएको छ ।

सार्वजनिक, निजी, पर्यटक, सरकारी र संस्थानको गाडीमा इम्बोस्ड नम्बर प्लेट लगाइने छ । मंसिर १ गतेबाट नयाँ दर्ता, फागुन १ बाट नामसारी गरिने सवारी साधन र जेठ १ गतेबाट नवीकरण गरिने सबै सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू हुने तालिका बनाइएको छ ।

यसअघि २०७४ को नेपाल राजपत्रमा प्रकाशित इम्बोस्ड नम्बरप्लेट सम्बन्धी निर्णय खारेज भएको मन्त्रालयले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता बंगलादेश र अमेरिकाको ज्वाइण्ट भेन्चर कम्पनी डेकाटुर टाइगरसँग गरिएको छ ।

२०७४ फागुन १० मा इम्बोस्ड नम्बर प्लेट वितरणमा रोक लगाउन र नेपाली अक्षरमा नम्बर प्लेट लेखिनुपर्ने मागदाबी सहित सर्वोच्च अदालतमा रिट परेको थियो । तर, २०७६ मंसिर २७ मा उक्त निर्णयलाई अदालतले खारेज गरिदिएको हो । उक्त निर्णय खारेज भएपछि मन्त्रालयले इम्बोस्ड नम्बरप्लेट लागू गर्ने योजना अघि बढाएको बताइन्छ ।

टिप्पणीहरू