भाइटीकाको दिन के भएको एअरपोर्टमा ?
शनिवार,तिहारको भाइटीकाको दिन,सामान्यतया : कर्मचारीहरु बिदामा हुन्छन् । तर,त्रिभुवन विमानस्थलको भन्सारका कर्मचारीहरु भने बिहानैदेखि कार्यक्षेत्रमा खटिएका थिए । विमानस्थल बन्द नहुने भएकाले उनीहरुले छुट्टी पाउने कुरै भएन ।
तर,तिनै कर्मचारीमाथि आफूलाई मुलुककै उच्चपदस्थ व्यक्ति ठान्ने नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीले दुर्ब्यवहार गरेको घटना अहिले चर्चामा छ । पर्यटनमन्त्री प्रेम आले,सचिव यादवप्रसाद कोइरालासँगै लण्डनबाट काठमाडौँ फर्किएका रेग्मीले भन्सारका कर्मचारीले भनेजति मदिरा ल्याउन नदिएको भन्दै त्यहाँ कार्यरत नायव सुब्बा सुमन थापामाथि कुटपिट गरेका हुन् ।
भन्सार ऐनअनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ । तर,रेग्मीले भने दुई वटा प्लास्टिकका झोलामा हालेर १/१ लिटरका ६ बोटल ल्याएका थिए । पर्यटन बोर्डको सीइओ भएकाले आफूमाथि चेकजाँच गर्न नहुने र ल्याएजति सबै मदिरा लैजान पाउनुपर्ने भन्दै रेग्मीले भन्सारका कर्मचारीहरुको सातो लिन खोजेका थिए ।
‘लण्डनबाट आएको भएर त्यहिस्तरको सुविधा खोजेको भए अलग्गै कुरा भयो तर,हामीले हाम्रो स्रोत र साधनले भएसम्म राम्रै सेवा दिएका हौँ । कानुनअनुसार गर्न नमिल्ने कुरा उहाँका लागि भनेर छोड्न मिलेन । तर उहाँ किन आवेशमा आउनुभयो बुझ्न सकेको छैन’,
आफूहरुले १ लिटर मात्र लैजान पाइने नियम सम्झाउन खोज्दा रेग्मी हातपातमा उत्रिएको एक कर्मचारीले बताए । प्रत्यक्षदर्शी ती कर्मचारीका अनुसार चेकजाँचका बेला निकै फूर्तिफार्ती गरेका रेग्मीलाई नायव सुब्बा थापाले सम्झाउन खोदा उनले मुड्की उज्याएका थिए । त्यसपछि थप तनाव उत्पन्न भएको उनले बताए ।
आफ्ना कर्मचारीलाई कार्यक्षेत्रमै हातपात भएको खबर सुनेपछि भन्सारका प्रमुख महेश भट्टराई भक्तपुरबाट दौडिँदै बिहान साढे ९ बजे विमानस्थल पुगे । घरमा भाइटीकाको टीका लगाउने तयारी चल्दै थियो । बिदाको दिनसमेत आफ्नो काममा खटिएका कर्मचारीले हामीलाई मोरल डाउन हुने गरी मिसबिहेभ गरियो भनेपछि टीका छोडेर तत्काल त्यहाँ पुगेको उनले सुनाए ।
‘लण्डनबाट आएको भएर त्यहिस्तरको सुविधा खोजेको भए अलग्गै कुरा भयो तर,हामीले हाम्रो स्रोत र साधनले भएसम्म राम्रै सेवा दिएका हौँ । कानुनअनुसार गर्न नमिल्ने कुरा उहाँका लागि भनेर छोड्न मिलेन । तर उहाँ किन आवेशमा आउनुभयो बुझ्न सकेको छैन’,उनले भने ।
उनले सामान्य नागरिकदेखि उत्कृष्ट भिआइपीसम्मलाई एउटै कानुन आकर्षित हुने भएकाले रेग्मीका हकमा छुट्टै व्यवहार नगरिएको पनि प्रष्ट पारे । ‘ऐन, कानुन उल्लङ्घन गर्छ भने सबैलाई कानुनअनुसार कारवाही गरिन्छ’, उनले भने ।
रेग्मीलाई लगत्तै प्रहरीले केएमसी लगेर मापसे परीक्षण गराएको थियो । लण्डनमा आयोजित तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर मन्त्री आलेसहितको टोली टीकाको दिन फर्केको हो । टोलीमा रेग्मी पनि थिए । एउटै विमानबाट फर्किएको भएपनि मन्त्री आले र सचिव कोइराला विमानस्थलको भीआइपी कक्षबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रुसरह भन्सार जाँचपासमा आइपुगेका थिए ।
बिहान पौने ९ बजे ल्याण्ड गरेका उनी ९ बजेतिर भन्सार चेकजाँचका लागि पुगेका थिए । मदिराको सुरमा कर्मचारी कुटेर लफडामा फसेका उनी जरिवाना तिरेर १ बजेतिर बल्ल विमानस्थलबाट बाहिरिएका थिए ।
यता,रेग्मीले कर्मचारीमाथि गरेको दुर्व्यवहार पर्यटन मन्त्रालयले छानविन गर्ने भएको छ । पर्यटनमन्त्री आलेले उनलाई मन्त्रालय बोलाएर म र सचिवज्यूको नाममा समेत रक्सी ल्याएको भनी किन झूठो बोलेको,अब खुरुक्क राजीनामा दिनु भनी सम्झाएको बुझिएको छ ।
टिप्पणीहरू